समाचारसोमबार, बैशाख ९, २०७०
राष्ट्रपति यादव आराम गर्न सपहीमा
९ बैशाखमा आफ्नो पुख्र्यौली घर धनुषाको सपही आईपुगेका राष्ट्रपति यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधान निर्माणका लागि निर्वाचन अपरिहार्य रहेको निर्वाचनको विरोध गरिरहेका पक्षहरुसँग वार्ता गरी सरकारले सबैलाई चुनावी प्रक्रियामा सहभागी गराउनु पर्ने बताएका छन् ।
राष्ट्रपति यादवले भने, “अप्रत्यक्ष र अनौपचारिक रुपमा नेकपा–माओवादी र मधेशी जनअधिकार फोरमसँग मेरो छलफल भईरहेपनि वार्ता गर्ने निकाय सरकार रहेकोले सरकारसित नै वार्ता हुनुपर्छ ।”
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफूसितको भेटवार्तामा समेत कार्तिक मसान्तसम्ममा चुनाव गर्ने तयारी भईरहेको जानकारी दिए ।
केही दिन आरामका लागि आफ्नो गाउँ सपही आएका राष्ट्रपति यादव त्यसअघि धनुषाको महेन्द्रनगरमा नेपाली सेनाको हेलिकप्टरबाट अवतरण गरेका थिए ।
सपही चोकबाट नै स्थानीय बासिन्दाले फूलमाला र बाजागाजका साथ राष्ट्रपति यादवलाई स्वागत गर्दै एककिलोमिटरको दूरीमा रहेको घरसम्म पैदल यात्रा गराउँदै पु¥याएका थिए ।
उनी १२ बैशाखमा काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
इश्वरचन्द्र झा, जनकपुर
