समाचारमंगलबार, बैशाख १०, २०७०
अदालतको फैसलाप्रति सीताको परिवार असन्तुष्ट
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजलासले ९ बैशाखमा सुनाएको फैसलामा पीडकलाई पाँच वर्ष ६ महिना कैद र रु ५० हजार क्षतिपूर्ति जरिवाना तोकिएको छ ।
भोजपुरको गाउँमा बस्दै आएका सीता र उनका परिवारले फैसलाबारे टेलिफोनबाट थाहा पाएपछि पीडकलाई सजाय कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् । सीताका बुबाले भने, “रक्षक भनिने नेपाल सरकारको प्रहरीबाट नै यस्तो घटना घट्दा मलाई चित्त बुझेको छैन । छोरीको बेइज्जतीलाई सम्झिने हो भने त चित्त बुझ्दै बुझ्दैन ।”
अब पुनरावदेन गर्ने कि नगर्ने भन्ने बारेमा भने उनले आफूलाई सहयोग गर्नेहरुसँग छलफल गरेर निर्णय गर्ने बताए । पीडित सीताले दोषीलाई अझ कडा कारबाही भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिएकी छन् ।
सोमबार भएको अन्तिम बहसमा सरकारी वकिलको तर्फबाट जुद्धबहादुर आले मगर, आदीवासी महिला कानूनी सचेतना समूहका तर्फबाट अधिवक्ता लक्ष्मी राई र अर्का अधिवक्ता इन्दिरा श्रेष्ठ मगरले बहस गरेका थिए ।
“मलाई पनि यो फैसला प्रति त्यति चित्त बुझेको छैन । घर परिवारले के भन्नु हुन्छ थाहा छैन तर फैसलाले अपराध भएको ठहर भएको छ ,” फैसलापछि अधिवक्ता राईले भनिन् । आर्थिक अवस्था नाजुक रहेका सीता र उनका परिवार गाउँमै खेती किसान गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
रोजगारका लागि साढे तीन वर्षअघि सीता साउदी अरब गएकी थिइन् । साउदीबाट घर फर्किने क्रममा त्रिभुवन विमानस्थलमा नै पैसा लुटिएपछि रुँदै बसेकी सीतालाई प्रहरी हवल्दार बस्नेतले घर पठाइदिने बहानामा एक होटलमा लगेर जवरजस्ती गरेका थिए ।
रासस
