समाचारबुधबार, बैशाख ११, २०७०
भारतसँग निर्वाचनका लागि सहयोग माग्छु: दाहाल
११ बैशाखमा शहीद सेतु बिकको नेपालगञ्जमा शालीक अनावरण कार्यक्रममा बोल्दै दाहालले १५ बैशाखमा आफू भारत जान लागेको जानकारी दिंदै भ्रमणको उद्देश्य संविधान सभाको निर्वाचनमा सहयोग जुटाउनु रहेको बताएका छन् ।
केही दिनअघि मात्रै चीन भ्रमणबाट फर्किएका दाहालले भारत भ्रमण मुलुकको आर्थिक विकासको एजेण्डामा केन्द्रित हुने पनि दाबी गरे । उनले भने, “जलविद्युत, लुम्बिनी, मध्यपहाडी राजमार्ग र शहरीकरणका क्षेत्रमा विकासका लागि आर्थिक सहयोगका विषयमा पनि कुरा हुनेछ ।”
एमाओवादीको सुदूरपश्चिम ब्यूरोले बर्दियामा आयोजना गरेको दुई दिने प्रशिक्षण सकेर काठमाडौं फर्कने क्रममा दाहालले शहीद बिकको शालीक अनावरण गरेका हुन् ।
अध्यक्ष दाहालले आर्थिक समृद्धि बीना राजनीतिक स्थायित्व हुन नसक्ने भन्दै आफू मुलुकको आर्थिक विकासका लागि सक्रिय रहेको पनि बताएका थिए ।
तुफान न्यौपाने, नेपालगन्ज
