समाचारबुधबार, बैशाख ११, २०७०
एमाले छैन भन्नेलाई राँची लैजानु पर्छ: नेपाल
११ बैशाखमा सर्लाहीको घुर्कौलीमा आयोजित कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले देशभर एमालेको पक्षमा जन लहर चलेको भन्दै अबको निर्वाचनमा एमालेले अत्यधिक बहुमत प्राप्त गर्ने बताएका छन् ।
उनले अघिल्लो संविधानसभाको निर्वाचनमा माओवादीको डर र धम्किका कारण एमालेले तेस्रो पार्टीमा सीमित हुनु परेको वताए ।
‘एमाले भन्ने पार्टी छैन’ भन्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले दाहालको नाम नलिएर भने, “एमाले कहाँ छ भन्ने सम्मका मानसिक रोगका शिकार नेता यहाँ छन, तीनलाई तुरुन्त राँचीमा भर्ना गर्नुपर्छ ।”
दाहालले केही दिन विदेश भ्रमण गर्दैमा अन्य नेता तथा पार्टीमाथि नाजायज टिप्पणी गरेको भन्दै नेपालले एमाओवादीले मुलुकलाई संकटको खाडलमा फसाएको आरोप लगाए ।
९ बैशाखमा बर्दियाको गुलरियामा आयोजित सभामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले । एमालेबाट अशोककुमार राई र रामचन्द्र झाहरुले छाडिसकेकाले मुलुकमा एमाले पार्टी नरहेको बताएका थिए । दाहालले भनेका थिए, “अब एमाले कहाँ छ, एमाले छैन, एमाले सकियो ।”
विश्वनाथ ठाकुर, सर्लाही
