समाचारबुधबार, बैशाख ११, २०७०
निर्वाचनप्रति राष्ट्रपति चिन्तित्
आराम गर्न जन्मथलो धनुषाको सपही गाउँ आएका राष्ट्रपति यादवले ११ बैशाखमा सञ्चारकर्मीसँग कुरा गर्दै भयमुक्त वातावरणमा संविधानसभाको निर्वाचन गराउनु आजको आवश्यकता भएको र वर्तमान सरकारले कसरी संविधान सभाको निर्वाचन सम्पन्न गर्छ भनी आफू चिन्तित् भएको बताएका छन् ।
दलहरूबीच आपसी सहमति नबन्दा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएको भन्दै राष्ट्रपति यादवले अगाडि भने, “सरकारले कसरी संविधानसभाको निर्वाचन सक्छ, त्यसप्रति म चिन्तित छु ।”
“राष्ट्राध्यक्षको हैसियतले मेरो एउटै मात्र चाहना छ की स्वच्छ तथा निष्पक्ष तरिकाबाट संविधानसभाको निर्वाचन सम्पन्न होस्,” राष्ट्रपति यादवले भने ।
सबै दलहरू एकजुट भएर चुनावमा भाग लिए नेपाली जनताको सपना साकार भई देश र जनताले ठूलो राहत पाउनेमा राष्ट्रपतिले जोड दिए ।
उनले देशमा चुनावी वातावरणको सिर्जना सँगै अन्तर्राष्ट्रिय जगत्ले पनि यसलाई समर्थन गरेकाले कुनै पनि अवस्थामा संविधानसभा चुनावको यात्रालाई सफल पार्नुपर्ने बताए ।
समयमै संविधान नआएर जनताले दुःख पाएको, व्यापारीहरू पलायन भएको र अर्थतन्त्र जर्जर भएकोमा यादवले चिन्ता व्यक्त गरे ।
राष्ट्रपति यादवले लोकतन्त्र प्राप्तिको सातौं वर्षको अवसरमा लोकतन्त्रलाई संस्थागत गर्न र जनताले चाहेको शान्ति र संविधान ल्याउन संविधानसभाको निर्वाचन नै उत्तम विकल्प भएको तथ्यप्रति गम्भीर बन्न दलहरुलाई आग्रह पनि गरेका थिए ।
रासस
