समाचारशुक्रबार, बैशाख १३, २०७०
वार्ताबाटै निर्वाचनको प्रक्रियालाई अघि बढाइनु पर्छः खनाल
नेकपा एमाले का पूर्व अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको चौधौँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले १३ बैशाखमा सानेपामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष झलनाथ खनालले निर्वाचनका लागि विभिन्न चुनौती रहे पनि वार्ता र संवादको माध्यमबाट समाधान खोज्नुपर्ने बताएका छन् ।
निर्वाचनको पक्षमा वातावरण बनाउन तथा देशका सबै राजनीतिक शक्तिलाई त्यो दिशामा उन्मूख गराउन संवाद र सहमति गर्नु पर्ने भन्दै खनालले निर्वाचनको माध्यमबाट देशलाई नयाँ उचाइमा लैजान सकेमात्र मनमोहन अधिकारीप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरे ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निष्ठा र निरन्तरताको प्रतीक स्वर्गीय अधिकारीको अभाव आजको राजनीतिमा खड्किएको छ भन्दै कम्युनिस्ट आन्दोलन र यसका नाममा विकृति र विभाजन बढिरहेको अहिलेको अवस्थामा अधिकारीको आदर्शलाई सबै कम्युनिस्ट पार्टीहरुले अङ्गीकार गरेर अघि बढ्न सकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका थिए ।
सो अवसरमा स्वर्गीय अधिकारीको सालिकमा अध्यक्ष खनाललगायत सर्वसाधारणले माल्यार्पण गरी श्रद्धाअर्पण गरेका थिए ।

