समाचारशुक्रबार, बैशाख १३, २०७०
नेपालीले कतारमा १० लाख डलरको चिठ्ठा जिते
दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली नागरिक डिल्लीराम पराजुलीले कतार ड्युटी फ्रि को ‘डलर मिलिएनार’ चिठ्ठा अन्तर्गत नेपाली रुपैयाँ करिब ८ करोड ७० लाख जितेका छन् । उक्त चिठ्ठाका बारेमा दोहा विमानस्थलको वेबसाइटमा उल्लेख गरिए पनि विस्तृत विवरण आउन बाँकी नै छ ।
विदेशी सञ्चारमाध्यमहरुका अनुसार दोहा विमानस्थलको ‘कतार ड्यूटी रिटेल एरिया’ मा चिठ्ठा खोलिएको थियो । ‘कतार ड्युटी फ्री’ कतार एअरवेज अन्तर्गतको ब्यवसाय हो ।
सन् २००६ देखि शुरु भएको यो चिठ्ठा एअरवेजको ब्यवसायको प्रवर्धनका लागि चलाइएको र प्रत्येक ५ हजार टिकट विक्रीमा खोलिने गरेको एअरवेजले जनाएको छ ।
दोहा एअरपोर्टमा आउने जाने यात्रुहरुले यो चिठ्ठाको टिकट २६३ अमेरिकी डलरमा किन्न पाइने ब्यवस्था छ । अघिल्लो वर्ष यस्तो चिठ्ठा भारतीय नागरिकले जितेका थिए ।
