थप समाचारशनिबार, बैशाख १४, २०७०
नवविवाहितलाई अस्थायी साधनबारे परामर्श
स्थानीय हाट स्वास्थ्यचौकीले गरेको निर्णयअनुसार विवाहित जोडीले परिवार नियोजनका साधनबारे अनिवार्य रुपमा परामर्श लिनैपर्ने व्यवस्था गरिएको हो ।
‘घरपैसो साधन परिचय कार्यक्रम’ अन्तर्गत व्यवस्थित परिवार नियोजनका लागि यस्तो सल्लाह लिनुपर्ने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख विनोद कुँवरले जानकारी दिए ।
गाउँघरमा अझै पनि कम उमेरमा विवाह हुने र सानै उमेरमा गर्भाधारण भई आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने हुँदा यस्तो निर्णय गरी कार्यान्वयनको अन्तिम चरणमा रहेको कुवँरले बताए ।
‘घरपैसो साधन परिचय अभियान’ नाम दिइएको यस कार्यक्रमबारे महिला स्वयम्सेविकाहरुलाई तालिम दिइसकिएको र परिवार नियोजनका साधनसहितको पोस्टर छपाएर योजना कार्यान्वयनमा लैजाने हाट स्वास्थ्यचौकीले जनाएको छ ।
स्वास्थ्यचौकीका अनुसार कण्डम, डिपो सुई, पिल्सलगायतका परिवार नियोजनका अस्थायी साधनहरु नवविवाहित जोडीलाई परामर्शसहित तत्काल उपलब्ध गराउने र स्थायी साधनबारे विस्तृत जानकारी दिइने छ ।
“अस्थायी वा स्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने/नगर्ने स्वतन्त्रता विवाहित जोडीलाई नै हुनेछ”– स्वास्थ्यचौकी प्रमुख कुवँरले भने, “हामी त्यस्ता साधनहरुका बारेमा राम्ररी बुझाएर प्रयोगमा ल्याउन सल्लाह मात्रै दिन्छौं।”
जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा आफ्नो परिचय बनाएको हाट स्वास्थ्यचौकीको यो निर्णय व्यवस्थित परिवार योजना र प्रजनन स्वास्थ्यको दृष्टिले सराहनीय भएको स्वास्थ्य कार्यालयप्रमुख डा गुणराज अवस्थीले प्रतिक्रिया दिएका छन् ।
रासस
