समाचारशनिबार, बैशाख १४, २०७०
पर्साको विकासका लागि भारतसँग कुरा गर्छुः दाहाल
१४ बैशाख विहान पार्टीले पर्साको पोखरियामा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका एमाओवादी अध्यक्ष दाहालले रक्सौल अमेलखगञ्ज रेलमार्ग, पर्सामा सडक विस्तार लगायतका विषयमा भारतीय पक्षसँग सहयोग माग्ने बताएका छन् ।
आजै भारत भ्रमणमा जान लागेका दाहालले नेपालमा आएको परिवर्तनलाई संस्थागत गर्न पनि भारतीय पक्षसँग सहयोगको अपेक्षा राखेको बताए ।
चुनावी सभालाई सम्बोधन गरेजस्तै गरी स्थानीयलाई प्रभाव पार्न भाषण गरेजस्तै दाहालले भने, “पर्साको विकासका लागि मैले भारतसँग छलफल गर्नेछु,” उनले अगाडि भने, “स्थानीय आगलागी पीडितहरुलाई पुनस्र्थापनाका लागि मैले सक्दो पहल गर्नेछु ।”
यसअघि चीन भ्रमणमा गएका दाहालले मुलुकको आर्थिक विकासका लागि चीनसँग छलफल गरेको बताएका थिए ।
दाहालको भारत भ्रमण उनी स्वयम् र उनको पार्टीको स्वार्थका लागि फलदायी भए पनि मुलुकका लागि भने यसले कुनै उपलब्धी नहुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।
अली असगर, वीरगञ्ज
