समाचारआइतबार, बैशाख १५, २०७०
नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ
अरु व्यक्तिलाई पिता बनाएर गैरकानूनी रुपमा नेपाली नागरिकता प्राप्त गर्न खोज्ने भारतीय युवक २० वर्षीय भारतीय युवक काजिर हवारी र पर्सा गम्हरीया–७ का इद्रिस हवारीलाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ ।
काजिरले नक्कली रुपमा इद्रिसलाई पिता बनाएर नेपाली नागरिकताका लागि आवदेन पेस गरेको सूचना पाएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
पर्साको गम्हरीयामा आयोजित एकीकृत घुम्ती शिविरमा भारतीय युवक काजिरले नक्कली बुबा बनाएर नागरिकता प्रमाणपत्र लिन खोजिरहेका बेला स्थानीयवासीले गाविस सचिव जयनारायण चौरसियालाई बताएपछि सचिवकै पहलमा दुवैलाई पक्राउ गरिएको हो ।
इद्रिसका दुई छोरा मात्र भएको र दुवै जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । इद्रिसले तेस्रो छोराको रुपमा काजिरलाई नागरिकता प्रमाणपत्रका लागि टोलीसमक्ष सिफारिससहितको निवेदन दिएका थिए ।
रासस
