थप समाचारआइतबार, बैशाख १५, २०७०
जुम्ल्याहा दाजुभाइद्वारा जुम्ल्याहा दिदी बहिनीसित विवाह
कञ्चनपुरको पिपलाडी–९ गर्जमुनिका जुम्ल्याहा दाजुभाइ रामप्रसाद निरौला र लक्ष्मण निरौलाले झलारी कसरौलकी दिदी बहिनी सीता भट्ट र पार्वती भट्टसित लगनगाँठो कसेका छन् ।
चार दिनअघि एकै यज्ञमा दुवै जोडी विवाह बन्धनमा बाँधिएका हुन् । दुई दुलाहा र दुई दुलहीको विवाह हेर्न भट्टको घरमा छिमेकी गाउँसम्मका बासिन्दा ओइरिएका थिए ।
गर्जमुनिका भोजराज निरौला र धर्मादेवी निरौलाका जुम्ल्याहा छोरा २०४७ सालमा जन्मिएका हुन् भने मदनराज भट्ट र लक्ष्मीदेवी भट्टका दुवै छोरी विसं २०४८ मा जन्मिएका हुन् ।
“जुम्ल्याहा विवाह त धेरै सुनिए, एकै घरमा दिदी बहिनीसित विवाह गरेको यहाँ पहिलोपटक हो” पिपलाडीका परमानन्द पन्तले भने, “यो संयोग हो ।”
विवाहपछि रामकी सीता र लक्ष्मणकी पार्वती भनेर गाउँमा नव विवाहित दम्पतीलाई भन्न थालिएको छ ।
रासस
