समाचारआइतबार, बैशाख १५, २०७०
अनावश्यक टिप्पणी नगर्न रेग्मीको आग्रह
नेपाल इञ्जिनियर्स एसोसियसनको १३ औं सम्मेलनको १५ बैशाखमा राजधानीमा उद्घाटन गर्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनका सन्दर्भलाई लिएर अनावश्यक टिप्पणी गर्नुभन्दा निर्वाचनप्रति सकारात्मक एवम् रचनात्मक धारणा राख्न सबैसँग आग्रह गरेका छन् ।
उनले निर्वाचनप्रति मनोगत विवेचना हुने गरेको पाइएको बताए । रेग्मीले भने, “संविधानसभा निर्वाचनको लागि समग्र राष्ट्रनै एक ढिक्का भएर लाग्नुपर्ने अवस्था छ, सरकार छिटो भन्दा छिटो निर्वाचनको मिति तोक्न आतुर छ, यो सरकार त्यसकै लागि गठन पनि भएको हो र सरकार आफनो मूल कार्यप्रति सचेत एवम् दृढ छ ।”
उनले सरकारको काम निर्वाचनको मिति घोषणा मात्र नभई निर्वाचनमा अधिकारिक सहभागिता, निर्वाचनको व्यवहारिक प्रयोग र निर्वाचनको परिणामबाट गठन हुने संविधानसभाबाट दिगो संविधान निर्माण होस् भन्ने भएको बताए ।
“यसको लागि निर्वाचनसम्बन्धी कानूनी व्यवस्था, मतदाता नामावली अद्यावधिक, नागरिकता वितरण, निर्वाचनका लागि स्रोत साधनको व्यबस्था तथा निर्वाचन मैत्री वातावरण निर्माण अत्यावश्यक भएकाले त्यसतर्फ अहिले सरकार अत्यन्त सक्रिय रहेको छ” अध्यक्ष रेग्मीले भने ।
निर्वाचनका बारेमा विभिन्न राजनीतिक दलहरु, निर्वाचन आयोगलगायत यससँग सरोकार भएकाहरुसँग सरकारको छलफल जारी रहेको रेग्मीले जानकारी दिए ।
उनले निर्वाचनप्रति फरक धारणा राख्ने पक्ष र राजनीतिक दलहरुलाई पनि सरकारसँग सम्पर्कमा आई निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आशावादी सोच राखी अघि बढ्न आग्रह गरे ।
प्रत्येक बालिग नेपाली नागरिकको मताधिकारको सुनिश्चित गर्दै स्वतन्त्र, भयरहित, निष्पक्ष र परिणाममुखी संविधानसभाको निर्वाचन अहिलेको सरकारको मुख्य कार्य भएकाले यसप्रति सबैको सहयोग आवश्यक रहेकोमा पनि अध्यक्ष रेग्मीले जोड दिएका थिए ।
