थप समाचारसोमबार, बैशाख १६, २०७०
पाकिस्तानमा आत्मघाती बम आक्रमणमा आठको मृत्यु
पेसावरमा आत्मघाती आक्रमणकारीले आफ्नो मोटरसाइकल एक बसमा जुधाउँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र अन्य ४५ व्यक्ति घाइते भएको जानकारी प्रहरीले दिएको छ ।
११ मेमा आम निर्वाचन हुने पाकिस्तानमा ११ अप्रिलदेखि राजनीतिज्ञ तथा राजनीतिक दलहरूलाई लक्ष्य गरी गरिएको आक्रमणमा ५६ व्यक्तिको मृत्यु भइसकेको छ ।
१६ बैशाखमा भएको आत्मघाती आक्रमणमा नगर प्रशासनका वरिष्ठ अधिकारी साहिबजादा अनिसलाई लक्ष्य बनाइएको थियो । जहाँगिर आबादमा विस्फोट हुनुकेही अगाडि उनी सोही स्थानबाट गएका थिए ।
प्रहरी अधिकारी मोहम्मद फैजलले आत्मघाती आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको तथा अन्य ४५ घाइते भएको जानकारी दिए । उक्त कुरालाई अस्पतालका अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।
घटनास्थलमा आक्रमणकारीको शरीरको भाग फेला परेका छन् । बम निष्क्रिय बनाउने अधिकारीहरूले आक्रमणकारीले छ किलोग्राम बराबरको विस्फोटक पदार्थ प्रयोग गरेका जानकारी दिएका छन् ।
रासस/एएफपी
