समाचारमंगलबार, बैशाख १७, २०७०
क्रमसंख्या पछि निर्धारण हुने गरी दलदर्ता शुरु
दलहरुबीच को पहिला आएको हो त्यही आधारमा पहिला दर्ता हुनुपर्ने भन्दै विवाद भएपछि निर्वाचन आयोगको सचिवालयको बैठक बसेर क्रमसंख्या पछि तोक्ने गरी दल दर्ता गर्ने सूचना जारी गरेको छ ।
आयोगको निर्णयमा दलहरु पनि सहमत भएपछि दल दर्ता प्रक्रिया केहीबेरमा शुरु हुने आयोगले जनाएको छ । १७ बैशाखदेखि आयोगले दर्ता खोलेपछि दल दर्ता सूचीमा पहिलो हुने होडबाजीले गर्दा एमाले र एमाओवादी बीच विवाद भएको थियो ।
एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईबीच आयोग परिसरमै छलफल भए पनि सहमति हुन सकेन ।
दल दर्ताका लागि बिहान ९ बजेबाट खुला हुने आयोगले सूचना जारी गरे पनि नेताहरु पहिलो नम्बरमा दर्ता गर्ने भन्दै ६ बजे नै कार्यालय पुगेका थिए । एमाले नेता कृष्णगोपाल श्रेष्ठले आयोगको मूल गेटभन्दा बाहिर जो पहिले आए पनि कार्यालय भित्र एमाले पहिलो लाइनमा बसेको दावी गरे । एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले एमाओवादीका कार्यकर्ता बिहानै लाइनमा बसेको बताए ।
प्रमुख दलहरुबाट दल दर्ताका लागि उच्च तहका नेताहरु कार्यालय पुगेका छन् ।
——————————————————————————————————————-
को पहिलो भन्नेमा एमाले र एमाओवादीमा विवाद
मंगलबार , १७ वैशाख २०७० ११:३० एम
निर्वाचन आयोगमा दल दर्ता गराउन पुगेका नेकपा एमाले र एमाओवादी बीच कसले पहिले दर्ता गराउने भन्ने विवाद भएपछि अहिलेसम्म कुनै दल पनि दर्ता हुन सकेका छैनन् ।
आयोगको कार्यालय ९ बजे खुल्ने भए पनि त्यसभन्दा तीन घण्टा अघि नै एमाले र एमाओवादीका नेता कार्यकर्ताहरु निर्वाचन आयोगमा पुगिसकेका थिए । अहिले एमाले र एमाओवादी दुबैले आफू पहिले आएको दाबी गर्दै पहिलो दर्ता गराउन पाउनुपर्ने माग गर्दै आएका छन् ।
विवादले झडपको रुप लिन थालेपछि निर्वाचन आयोगमा ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
निर्वाचन आयोगको दल दर्ता गराउने झ्यालको एकातर्फ आफ्ना कार्यकर्ताहरुका साथ एमाले उपाध्यक्ष वामदेव गौतम बसिरहेका छन् भने अर्को तर्फ एमाओवादी नेतृ हिसिला यमी दलबलका साथ उभिएकी छन् ।
एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई भने निर्वाचन आयोगका पदाधिकारीसँग समस्या समाधानका लागि वार्ता गरिरहेका छन् ।
सबै भन्दा पहिले दर्ता गराउँदा र दोस्रोमा दर्ता गराउँदा के फरक पर्छ भन्दा एमाओवादीका नेता देवेन्द्र पौडेलले अरु खासै फरक नपर्ने तर कार्यकर्ताहरुको मनोविज्ञानमा असर पर्ने वताए । “कुरा मनोविज्ञानको मात्रै हो, ठूलो समस्या छैन” उनले भने, “कुरा मिल्छ होला ।”
यो समाचार तयार पार्दासम्म एमाले र एमाओवादीबीच वार्ता चलिरहेको छ भने नेपाली कांग्रेस लगायत अन्य दलहरु पनि आयोगमा दल दर्ताका लागि पुगिसकेका छन् ।

