समाचारमंगलबार, बैशाख १७, २०७०
सबै खालका भारतविरोधि गतिविधि रोक्छौं: दाहाल
चीन भ्रमणबाट फर्के लगत्तै नेपालको विकासमा भारतले सहयोग नगरे नेपालमा भारतको सुरक्षा चासो सम्बोधन नहुने अभिब्यक्ति दिएका एमाओवादी अध्यक्ष दाहालले १७ बैशाखमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा भने भारतको सुरक्षा चासोलाई सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका दाहालले भेटवार्तामा नेपालको भूमि प्रयोग गरेर हुने सबै खाले भारतविरोधी गतिविधि रोक्ने प्रतिवद्धता जनाएका थिए ।
भेटमा दाहालले भारतबाट लामो समयदेखि प्रधानमन्त्री तहको नेपाल भ्रमण हुन नसकेको भन्दै सिंहलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । दाहालको जवाफमा सिंहले आफू नेपाल आउन ईच्छुक भए पनि उपयुक्त समय नमिलेको बताएको दाहालको निजी सचिवालयले जनाएको छ ।
दाहाल र भारतीय प्रधानमन्त्री सिंहबीचको भेटवार्तामा एमाओवादी नेता कृष्णबहादुर महरा र भारतका तर्फबाट प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई, नेपाल हेर्ने सहसचिव अखिलेष मिश्र र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादको उपस्थिति थियो ।
भेटमा दाहालले भारत, नेपाल र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको प्रस्ताव राखे पनि भारतीय प्रधानमन्त्री सिंहले नेपाल भारतवीचको दुई देशीय साझेदारीको अभिबृद्धिपछि मात्रै त्रिपक्षीय साझेदारीको सम्भावना रहेको धारणा राखेको दाहालले जानकारी दिए ।
१४ बैशाखमा भारत गएका दाहाल आज १७ बैशाखमा स्वदेश फर्कदैछन् । चीन भ्रमण लगत्तै भारत गएका उनले त्यहाँ सत्तारुढ कांग्रेस आई र प्रतिपक्षी भारतीय जनता पार्टीका उच्चतहका नेताहरुसँग भेटवार्ता गरेपनि कांग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग भने भेट पाएनन् ।
