समाचारबुधबार, बैशाख १८, २०७०
प्रकाशलाई भित्र्याए पुष्पकमलले

१८ बैशाखमा विराटनगर विमानस्थलमा बाबुसँगै देखिएका प्रकाश दाहाल (रातो घेरामा) । तस्बीर साभार: सेतोपाटी
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा एवम् नेवा राज्य समिति सदस्य प्रकाश दाहाल पार्टीले निलम्बन फुकुवा गरे यता पहिलो पटक १८ बैशाखमा बुबा र पार्टी नेताहरुसँग विराटनगर विमानस्थलमा देखा परेका छन् ।
१८ बैशाखमा मजदुर दिवसका अवसरमा इटहरीमा आयोजित सभामा सहभागी हुन विराटनगर विमानस्थलमा ओर्लिएका पार्टी अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरुसँगै प्रकाश पनि थिए ।
तेस्रो पत्नी बनेकी बिना मगरसँग लामो समय विदेशमा रहेको भनिएका प्रकाश पहिलो पटक गत १८ चैतमा कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल हेर्न मुखमा मास्क र कालो चस्मा लगाएर पुगेको देखिएका थिए । त्यसपछि पार्टीले उनको निलम्बन फुकुवा गरेको थियो ।
निलम्बन फुकुवापछि सार्वजनिक कार्यक्रममा कतै नदेखिएका प्रकाश आज पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी भएका हुन् ।
गत वर्ष सगरामाथा आरोहणका क्रममा विवाहित बिनासँग सम्बन्ध बनाएका प्रकाश उनीसँगै झण्डै नौ महिना अज्ञातबासमा थिए । बिना पनि एमाओवादी पार्टिको राज्य समिति सदस्य हुन् ।
