थप समाचारबिहीबार, बैशाख १९, २०७०
पाकिस्तानको जेलमा रहेका भारतीय सरबजीतको मृत्यु
पाकिस्तानको जेलमा रहेका बेला पाकिस्तानका कैदीहरुको आक्रमणमा परेका भारतीय नागरिक सरबजीत सिंहको १८ बैशाख राति १ बजे लाहौरको जिन्ना अस्पतालमा मृत्यु भएको छ ।
लाहौरको कोट लखपत जेलमा कैदिहरुको आक्रमणबाट गम्भीर घाइते भएका सिंह ६ दिनदेखि कोमामा थिए ।
भारतीय समाचार एजेंसी पीटीआईका अनुसार सरबजीतको मृत्यु भारतीय समयानुसार राति डेढ़ बजे भएको थियो ।
१९ बैशाखमा सरबजीतको शव पोस्टमार्टमपछि भारत सरकारलाई बुझाइने पाकिस्तान सरकारले बताएको छ ।
गिरफ़्तारी
सरबजीत सिंहलाई सन् १९९० मा पाकिस्तानको लाहौर र फ़ैसलाबादमा भएको चारवटा बम विष्फोटमा संलग्न रहेको भन्दै पाकिस्तान सरकारले गिरफ्तार गरेको थियो । उक्त विष्फोटमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो ।
पाकिस्तानमा सरबजीतलाई मनजीत सिंहको नाममा गिरफ्तार गरिएको थियो । आफ्नो बचाउ गर्दै सरबजीतले आफू निर्दोष भएको र गल्तीले सीमा पार गरेर पाकिस्तान पुगेको बताउँदै आएका थिए । उनी पाकिस्तानसँग सीमा जोडिएको तरनतारनका किसान हुन् ।
अगस्त १९९० मा सरबजीत भारतसँग सीमा जोडिएको कौसरबाट गिरफ्तार भएका थिए । लाहौरको अदालतले उनलाई मृत्युदण्डको सजाए सुनाएको थियो । जसलाई त्यहाँको सुप्रिम कोर्ट र राष्ट्रपतिले ठिक ठहर्याएका थिए ।
सरबजित निर्दोष भएको भन्दै उनको रिहाईका लागि भारतीय सरकारले पनि पहल गर्दै आएको थियो । तर, मृत्यु दण्डको सजाय सुनाइएका सरबजीतले कैदीहरुको आक्रमणमा परी ज्यान गुमाउनु पर्यो ।

