समाचारबिहीबार, बैशाख १९, २०७०
मुद्दा मिल्ने दलसँग तालमेल हुन्छः खनाल
प्रेस चौतारी बांकेले नेपालगञ्जमा १९ बैशाखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको निर्वाचनमा राजनीतिक मुद्दा मिल्ने दलसँग केही स्थानमा सहकार्य हुन सक्ने बताएका छन् ।
आगामी निर्वाचनमा आफ्नो दलले अत्यधिक बहुमत ल्याउने दाबी गर्दै खनालले भने, “लोकतान्त्रिक शक्तिको दुई तिहाई बहुमत पुर्याउनका लागि चुनावी तालमेलको कुरा हुन सक्छ तर, एमालेले पूरै सिटमा आफ्नो उम्मेदवारी दिन्छ ।”
लोकतान्त्रिक शक्तिहरु कमजोर हुने ठाउँमा अवस्था हेरेर लोकतान्त्रिक शक्तिसँग केही सिटमा तालमेल हुनसक्ने अध्यक्ष खनालको भनाई थियो ।
निर्वाचनको मिति घोषणा र तराईका केही जिल्लाहरुमा निर्वाचन क्षेत्र थपघट गर्ने तयारी भइरहेको पनि खनालले जानकारी दिए । उनले आफ्नो दल छाडेर गएका केही नेताहरुप्रति इंगित गर्दै समुद्रबाट एक लोटा पानी झिक्दैमा केही फरक नपर्ने प्रतिक्रिया दिए ।
खनालले एमाओवादी प्रतिको भ्रमबाट नेपाली जनता अहिले मुक्त भइसकेको पनि बताएका थिए ।
दीपा आले, नेपालगञ्ज
