समाचारबिहीबार, बैशाख १९, २०७०
कलङ्की–कोटेश्वर सडक १० लेनको बन्दै
चीन सरकारको आर्थिक सहयोगमा दश ‘लेन’मा विस्तार हुन लागेको साढे नौ किलोमिटर लामो कलङ्की–कोटेश्वर सडक खण्डको सर्वेक्षण अहिले द्रुत गतिमा अघि बढेको छ ।
४ जेठदेखि सडक विस्तारको काम थालिने भएकाले तीन सदस्यीय चिनियाँ प्राविधिक टोलीले तीव्र गतिमा सर्वेक्षणको काम अघि बढाएको हो ।
सडक निर्माता कम्पनी साङघाइ कन्सट्रक्सन ग्रुपका प्राविधिक युद्धस्तरमा सर्वेक्षणमा लागेका तथा ४ जेठदेखि चिनियाँ कामदारले निर्माण एवम् विस्तारको काम थाल्ने चक्रपथ विस्तार परियोजनाका प्रमुख अशोक तिवारीलाई उद्धृत गर्दै राससले बताएको छ ।
साङघाइ कन्सट्रक्सन ग्रुपले निर्माण उपकरणलगायत सामग्री केही दिनभित्रै यहाँ ल्याइसक्ने जानकारी दिँदै तिवारीले उक्त कम्पनीलाई ललितपुरको सुन्दरीघाटमा कार्यालय स्थापनाको अनुमति सरकारले दिएको पनि जानकारी दिए ।
सुन्दरीघाटमा उक्त कम्पनीले कार्यालय, निर्माण उपकरण, सामग्री र दुईसय चिनियाँ कामदार राख्नेछ । पहिलो चरणमा नमूनाका रूपमा बल्खु–कलङ्की र एकान्तकुना–कोटेश्वर खण्ड विस्तार गरिने छ ।
कलङ्की–कोटेश्वर सडक विस्तारका निम्ति सरकारले नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणलाई सडक किनारमा ठड्याइएका खम्बा र पानीका पाइप व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ ।
त्यसैगरी, काठमाडौं उपत्यका नगर विकास आयुक्तको कार्यालयले पनि १५ दिने सार्वजनिक सूचना जारी गरेर उक्त खण्डका घरटहरा एवम् अन्य भौतिक संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
चार करोड ५० लाख अमेरिकी डलरको लागतमा निर्माण हुने उक्त सडक खण्डको सम्पूर्ण व्ययभार चीन सरकारले व्यहोर्नेछ । दुई वर्षअघि तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपाल भ्रमणमा आएका बेला नेपाल र चीनबीच चक्रपथ विस्तार गर्ने सहमति भएको थियो ।
