थप समाचारशुक्रबार, बैशाख २०, २०७०
यस्तो पनि हुन्छ अफगानिस्तानमा
३०० जना गाउँले ती युवतीलाई बचाउनका लागि होइन कि उनलाई कथित कारबाहीस्वरुप हत्या गरेको हेर्न वा हत्याको साक्षी बस्नका लागि त्यहाँ उपस्थित भएका थिए ।
तिनै मानिसको भीडबाट एकजना १९ वर्षीया युवतीका पिता निस्किए । हातमा बन्दुक लिएका उनले आफ्नी छोरीमाथि प्रहार गरे ।
ती युवतीका पिताले आफ्नी छोरीलाई टाउको, पेट र छातीमा गरी तीनवटा गोली हाने, तर गाउँलेले त्यसको कुनै विरोध गरेनन् बरु उनीहरुले ताली बजाएर समर्थन गरे ।
धार्मिक अन्धविश्वासमा जकडिएको एक गाँउमा महिलामाथि गरिने कारबाहीको स्वरुप हो यो । ती गाउँहरुमा गल्ती गर्ने अथवा उनीहरुले तोकेका निश्चित कामहरुको विरुद्धमा जाने महिलालाई यसरी नै कारबाहीस्वरुप हत्या गर्ने गरिन्छ ।
दुई सन्तानकी आमा १९ वर्षीया हलिमालाई आफ्नै पिताले कारबाहीस्वरुप यसरी गोली हानेर हत्या गरे ।
हालै भएको यो घटना सरसर्ती सुन्दा काल्पनिक कथाजस्तो लाग्छ । तर यो अफगानिस्तानका महिलाको वास्तविकता हो र यसरी नै उनीहरु हिंसाका शिकार भइरहेका छन् ।
यसरी गोली हानी हत्या गरिनु पर्ने उनको दोष परपुरुषसँग लागेको दाबी गरिएको छ जसको कुनै प्रमाण छैन र उनले त्यो स्वीकारेकी पनि छैनन् ।
यसरी परपुरुषसँग लागेको भन्नेजस्ता कैयन काल्पनिक दोषारोपणबाट अफगानिस्तानका कयौँ महिलाले बर्सेनि ज्यान गुमाउने गर्दछन् ।
यो घटनापछि अफगानिस्तानको उत्तरपश्चिमी प्रान्तका एकजना प्रहरी अधिकारीले भने, “ती युवतीलाई परपुरुषसँग लागेको अरोप लगाइएको थियो, त्यसैले गाउँलेले नै उनीहरुको धार्मिक मान्यताबमोजिम सो कारबाही गरेका हुन् ।”
यस्तो सार्वजनिक कारबाहीको नाम दिइएको घटनालाई अफगानिस्तानमा धार्मिक मान्यताबमोजिम बैध नै मानिन्छ । महिलाको चरित्रसम्बन्धी कुनै प्रश्न उठेमा सार्वजनिक स्थलमा ढुङ्गाले हानेर वा गोली हानेर हत्या गर्ने गरिन्छ ।
श्रीमान कामका लागि इरान गएका हलिमामाथि हत्याको कारबाहीको निधो उनका पिताले नै गरेका हुन् ।
उनले तालिवानीहरुको वकिललाई छोरीलाई कस्तो कारबाही गर्ने भनेर सोधेका र उनीहरुले सार्वजनिक स्थलमा गोली हानेर मार्ने भन्ने सल्लाह दिएपछि ती बुबाले यस्तो कारबाही गरेका थिए ।
ती प्रहरी अधिकारीले भने उनको परिवारसँग सो घटनाका बारेमा बुझ्नका लागि गएको बताएका छन् । तर उनलाई पक्राउ गर्ने योजना बारे भने उनले केही भनेनन् ।
“हामी उनको घरमा घटनाबारे बुझन घटना भएको तीन दिनपछि पुगेका थियौं, तर उनको परिवार गाँउबाटै भागिसकेको थियो ।”
उत्तरपश्चिमी प्रान्तक बाग्धीको कुकचहेल भन्ने गाउँमा २२ अप्रिलमा सो घटना भएको थियो । यस गाँउ धार्मिक कुसंस्कारमा जकडिएकोले यसअघि पनि त्यहाँ यस्ता घटना हुने गरेका छन् ।
उक्त हत्याको भिडियो पनि सार्वजनिक गरिएको छ । उक्त भिडियोमा ३०० देखि ४०० जना गाँउले सो घटनामा उपस्थित भएका छन् र उनीहरुले उक्त हत्याको समर्थन गरेका छन् ।
उक्त भिडियोमा देखाइएअनुसार ती युवतीका पिता सो सार्वजनिक स्थानमा आउँछन र उनले आफूसँगको बन्दुक झिकेर तीन पटकसम्म प्रहार गर्छन् ।
ती गोली लागेर युवती ढलेपछि भने उनका भाई आँखाबाट आँशु झारेको दृश्यपनि उक्त भिडियोमा देखाइएको छ ।
तर उनी सानो भएको र त्यत्रो सङ्ख्यामा गाउँले नै उपस्थित भएका तथा आफ्नै बुबाको हातमा बन्दुक भएकोले उनले केही बोल्न नसकेको जस्तो दृश्य उक्त भिडियोमा देखिन्छ ।
एम्नेष्टि इन्टरनेशनल र विश्वका महिलावादी सङ्घसंस्थाहरुले यस घटनाको व्यापक रुपमा विरोध गरेका छन् । उनीहरुले यस्तो घटनालाई महिलामाथिको अधिकारको हनन् मात्र नभएर आधुनिक मानव समाजकै पासविक घटना हो भनेका छन् ।
तर उनीहरुले यस्ता घटनाको विरोध गरिनै रहेतापनि अफगानिस्तानमा भने यी पासविक हत्या र दुव्र्यवहारहरुमा भने कमी आएको छैन ।
एएफपी

