समाचारशुक्रबार, बैशाख २०, २०७०
भुल सुधार गर्दै अघि बढनु पर्छः रेग्मी
२० बैशाखमा काठमाडौ विश्वविद्यालयको ६३ औं बैठकलाई सम्बोधन गर्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधानसभाबाट संविधान निर्माण गर्न नसकी तत्कालिन निर्वाचन औचित्यहिन भएको बताउँदै थपे, “त्यसबाट नागरिकमा निराशा व्याप्त भएको कुरालाई मैले राम्ररी बुझेको छु ।”
इतिहासको कुनै कालखण्डमा केही असफलताको अवस्था उत्पन्न हुँदैमा विकासको गति अवरुद्ध नहुने भन्दै रेग्मीले गल्ती, कमजोरीबाट पाठ सिकेर भुल सुधार गदै अघि बढ्न सकिन्छ भन्ने सत्यलाई बिर्सनु नहुनेमा जोड दिए ।
उनले नराम्रा कामहरुको अनुभवले पनि मानिसलाई अनुभवी बनाउँदै सही मार्गमा अघि बढ्न अभिप्रेरित गर्ने धारणा राखे ।
रेग्मीले संविधानसभाको निर्वाचनलाई परिणाममुखी बनाउन आह्वान समेत गरेका थिए ।
सम्बोधनको लामो समय शिक्षा क्षेत्रबारे चर्चा गरेका रेग्मीले देशले शिक्षित जनशक्तिको समुचित लाभ लिन नसकेको बताए । उनले भने, “उत्पादित शैक्षिक जनशक्तिबाट देशले लाभ लिन नसकेको बास्तबिकतालाई स्विकार गर्नपर्दछ ।”
नगेन्द्र अधिकारी, काभ्रे
