समाचारशुक्रबार, बैशाख २०, २०७०
स्ववियु चुनावमा उमेरको हदवन्दी सर्वोच्चद्वारा सदर
स्ववियु निर्वाचनमा उम्मेदवार हुन उमेर हदबन्दीको निर्णय खारेजको मागगर्दै परेको रिटमा न्यायाधीश रामकुमारप्रसाद साह, तर्कराज भट्ट र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले २० बैशाखमा स्ववियुको चुनावी प्रक्रियामा त्रिभुवन विश्वविद्यालयले नियम बनाएर कार्यान्वयन गर्न सक्ने भएकोले यसबारेमा अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश सुनाएको छ ।
त्रिविले आगामी २०७२ सालदेखि लागु हुनेगरी विद्यार्थी युनियनमा उम्मेदवार बन्न २८ वर्ष ननाघेको हुनु पर्ने निर्णय गरेको थियो ।
अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएपछि आगामी जेठमा गर्ने भनिएको स्ववियु चुनावका लागि बाटो खुला भएको छ ।
त्रिविले स्ववियु चुनावमा समानुपातिक निर्वाचण प्रणाली अपनाउने र २८ बर्षे उमेर हदबन्दी कायम गर्ने निर्णय गरेपछि उपत्यकाका काङ्ग्रेस, एमाले समर्थित ११ विद्यार्थी सङ्गठनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा २८ बर्से उमेर हद एवम् समानुपातिक निर्वाचण प्रणाली कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो । नेवि सङ्घ र अनेरास्ववियुले अखिल क्रान्तिकारीसँगको मिलेमतोमा त्रिविले नयाँ प्रावधान ल्याउन लागेको आरोप लगाउँदै आएका छन् ।
