समाचारशनिबार, बैशाख २१, २०७०
कात्तिकको निर्वाचन पनि सर्न सक्छः नेता नेपाल
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घको चौधौँ साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै एमाले नेता माधवकुमार नेपालले स्वच्छ निर्वाचनका लागि सरकार र निर्वाचन आयोगले आवश्यक तयारी थाल्नुपर्ने भन्दै त्यसको सुनिश्चितता बिना निर्वाचन हुन नसक्ने बताएका छन् ।
“निर्वाचनमा मतदान गर्न अनिवार्य मतदाता परिचयपत्रको व्यवस्था, विद्युतीय मतदान यन्त्र प्रयोगको व्यवस्था र भयमुक्त वातावरणमा स्वच्छ निर्वाचनको सुनिश्चितता अनिवार्य छ, त्यो कात्तिकसम्म सम्भव नभए निर्वाचन सार्न सकिन्छ,” नेपालले भने ।
उनले वर्तमान सरकारलाई चार दलको संयन्त्रको भरमा नचली आवश्यकताअनुसार स्वविवेक प्रयोग गर्न सुझाव समेत दिए । दिनुभयो । उनले भने, “यो सरकारले चार दलको लाचार छायाँ बन्न आवश्यक छैन, कुनै दलको नेताको पुच्छर बन्न आवश्यक छैन । मन्त्रिपरिषद्का अध्यक्षले कुनै दलका नेताले भने भन्दैमा खुरुखुरु मान्नुपर्दैन ।”
उनले चुनावी प्रक्रियाको विरोधमा रहेका दलहरुका जायज मागहरुको सम्बोधन गरेर सरकारले उनीहरुलाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।
