थप समाचारआइतबार, बैशाख २२, २०७०
बन्दले घुम्ती शिविर पनि स्थगित
अनिश्चितकालिन आमहड्तालमा उत्रिएको संघीय लिम्बुवान राज्य परिषदले एकीकृत घुम्ती शिविर तत्काल बन्द गर्न चेतावनी दिएपछि सुरक्षाको कारण देखाउँदै एकीकृत घुम्ती शिविर स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल सरकारले सर्वसाधारण जनताहरुलाई घरदैलोमा गएर सेवा दिने उद्देश्यले संचालन गरेको एकीकृत घुम्ती शिविरमा नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, अपाङ्गता परिचयपत्र वितरण, स्वास्थ्य उपचार, कृषि तथा पशु सेवा सम्बन्धी निःशुल्क परामर्श तथा शिक्षा र सरसफाई सम्बन्धी कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्दै आएको छ ।
घुम्ती शिविर बैशाख २३ गतेदेखि २५ गतेसम्म मुढेवास माविमा संचालन गर्ने कार्यक्रम थियो ।
संघीय लिम्बुवान राज्य परिषदले पूर्वका ९ जिल्लामा २१ बैशाखदेखि अनिश्चितकालिन आमहड्तालको आह्वान गरेको छ । बन्दले गर्दा यहाँको जनजीवन प्रभावित भएको छ ।

