समाचारआइतबार, बैशाख २२, २०७०
सञ्चारमन्त्री नबोलेरै बाहिरिए
अख्तियारमा लोकमान सिंह कार्कीलाई नियुक्त गर्न नहुने बताउँदै आएका सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले संवैधानिक परिषदको बैठकका निर्णयबारे विस्तृत विवरण कुरेर बसेका सञ्चारकर्मीसँग कुरै नगरी बाहिरिएका छन् ।
पत्रकारहरुले उनीसँग सूचना मागेपछि पौडेलले ‘म परिषदको प्रवक्ता होइन’ भन्दै निस्केका हुन् ।
सरकारका प्रवक्ता रहेका पौडेलले यसअघि अख्तियार प्रमुखमा कार्कीको सिफारिस भए आफूले मन्त्री पदबाट राजीनामा दिने मनसाय बनाएको समाचार चर्चामा आएको थियो ।
अरुबेला पत्रकारहरुसँग हार्दिकतापूर्वक कुरा गर्ने पौडेल आज भने कुनै प्रतिक्रिया नदिइ अघि बढेका थिए ।
संवैधानिक परिषदका सदस्य कामु प्रधानन्यायाधिश दामोदर शर्माले ‘ यसअघि सिफारिस भएका नामहरुमै सिफारिस गरिएको छ’ भन्ने प्रतिक्रिया दिए पनि विस्तृत विवरण दिएनन् भने अन्य सदस्यहरु पनि केही नबोलेरै बाहिरिएका छन् ।
