थप समाचारआइतबार, बैशाख २२, २०७०
सिरियाको सैन्य केन्द्रमा इजरायलको रकेट आक्रमण
इजरायलले सिरियाको सैन्य अनुसन्धान केन्द्रमा रकेट हमला गरेको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ । यस अनुसन्धानकेन्द्रमाथि गएको जनवरीमा पनि इजरायलले आक्रमण गरेको थियो ।
शनिवार राती निकै ठूलो आवाजका साथ भएको आक्रमणले दमास्कस पूरै काँपेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
अनलाइनमा राखिएको सो घटनाको भिडियो फुटेज र एजेन्सीहरुले उल्लेख गरेका प्रत्यक्षदर्शीका भनाइका आधारमा रातको समयमा दमास्कस शहरको आकासमा आगोका विशाल लप्काहरु उठेको देखिएको थियो ।
इजरायलका एक अधिकारीले सिरियामा मिसाइलहरु राखिएको जहाजमाथि आक्रमण गरेर नष्ट गरेको दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।
इजरायलले सिरियाले लेबनानी हिजबुल्लाहरुका लागि ती मिसाइलहरुको आपूर्ति गर्न लागेको दाबी गरेको छ ।
इजरायलले गरेको यो आक्रमणले विद्रोहीको मनोवल बढ्ने सञ्चारमाध्यमहरुको विश्लेषण छ ।
सिरियाली सेना र विद्रोहीकाबीच केही महिनायता दमास्कसमा संघर्ष चलिरहेको भए पनि कुनै एक पक्षको शक्ति स्थापित भने भएको छैन ।
मार्च २०११ देखि चलिरहेको संघर्षमा ७० हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।

