समाचारसोमबार, बैशाख २३, २०७०
अख्तियार प्रमुखमा कार्कीको सिफारिस बारे विरोध
नेपाली कांग्रेस र नेकपा एमालेले कार्कीको सिफारिस रोक्न थप कदम चाल्ने वा के गर्ने भन्ने विषयमा छलफल गर्दैछन् ।
आज दुई दलले संयुक्त बैठक बोलाएको ती दलका नेताहरुले बताएका छन् । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कार्कीका विषयमा एमालेले असहमति पत्र बुझाउने र कांग्रेसँग पनि छलफल गर्ने तयारी भइरहेको बताए ।
२२ बैशाखमा बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्की सहित लोकसेवा आयोगको अध्यक्षमा कयोदेवी यमी, महालेखा परिक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ ।
सिफारिस अनुमोदनका लागि २२ बैशाखमै परिषदले राष्ट्रपति कार्यालयमा पठाइसकेको छ ।
यसैबीच कार्कीको सिफारिस विरुद्ध २३ बैशाख विहान विद्यार्थी संगठनहरुले क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । राजधानीका क्याम्पस अगाडि चक्काजाम र नारावाजी गरेर विरोध गरेको ती संगठनहरुले जनाएका छन् ।
त्यस्तै कार्कीको सिफारिस रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरुले दिउँसो शीतल निवासमा धर्ना दिने भएका छन् । दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा धर्ना दिने कार्यक्रम रहेको नागरिक अगुवाहरुले बताएका छन् ।
