समाचारमंगलबार, बैशाख २४, २०७०

पूर्वमा बन्द जारी, जनजीवन थप कष्टकर

हिमालखबर

पूर्वका एकहजारभन्दा बढी सार्वजनिक सवारीहरु ठप्प भएका छन, त्यसमा कार्यरत हजारौं मजदुरहरु काम नपाएर विच्चलीमा परेका छन् । मालवाहक ट्रक र ट्र्याक्टरमा कार्यरत मजदुर पनि काम नपाएपछि बेरोजगार भइ बसेका छन् ।

सार्वजनिक यातायात र मालवाहक ट्रक नचलेपछि यसको प्रत्यक्ष प्रभाव पूर्वी पहाडी जिल्लाका बजारहरुमा देखिन थालिएको छ । ताप्लेजुङलगायतका जिल्लाहरुमा दैनिक उपभोग्यका सामानको अभाव हुन थालेको छ ।

यसका साथै राजस्व सङ्कलन पनि प्रभावित भएको छ । नेपालको पूर्वी नाका काँकडभिट्टाको विगत चार दिनमा करिब रु दुई करोडको राजस्व सङ्कलनमा कमी आएको उक्त कार्यालयले जनाएको छ ।

सार्वजनिक यातायातका साधनहरु नचलेपछि सदरमुकामका सरकारी कार्यालयहरु सुनसान बनेका छन् ।

सेवाग्राही आउने गरेको अवस्थामा बजारका चिया, खाजा, जुस, होटेललगायतका पसलहरुमा देखिने गरिएका चहलपहल विगत चारदिनदेखि देखिन छाडेकाले स–साना पसलेहरुलाई पनि जीविकोपार्जनमा समस्या उत्पन्न भएको छ ।

बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । विगत तीन दिनदेखि शिक्षण संस्थाका पढाइ ठप्प रहेका छन् ।

आम हडतालका कारण अरुण–सप्तकोसी पूर्वका नौं जिल्लामा मेची अञ्चलअन्तर्गतका झापा, इलाम, पाँचथर र ताप्लेजुङका साथै कोसी अञ्चलका धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा हडतालको अत्यधिक प्रभाव परेको छ भने मोरङ र सुनसरीमा बन्दको सामान्य असर परेको छ ।

सङ्घीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले पाँच सूत्रीय माग पूरा नभएसम्म हडताल जारी रहने बताएका छन् ।

सङ्घीय लिम्बूवान राज्य परिषद्सँग वार्ता गरी अविलम्ब समस्या समाधानका लागि पहल गर्न यहाँका नागरिकले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>