समाचारमंगलबार, बैशाख २४, २०७०
बाजुरामा कर्फ्यु, प्रहरीसहित कम्तिमा २० घाइते
बाजुराको सदरमुकाम मार्तडीमा स्थानीय प्रशासनले दिउँसो ३ बजेदेखि २५ बैशाख बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
आन्दोलनको तेस्रो दिन जिल्ला प्रशासन कार्यालय बाजुरामा घेराउका लागि गएका आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गर्दा २० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक पनि आन्दोलनकारीको आक्रमणबाट घाइते भएका छन् ।
आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गर्दै खोजी खोजी आक्रमण गरेको पीडितहरुको भनाइ छ । रिपोटिङका लागि गएका पत्रकार गगन ऐडी पनि घाइते भएका छन् । घाइते सबैको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ ।
सडक निर्माणका लागि अन्तिम र निर्णायक आन्दोलनमा गर्ने भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा–माओवादीले संयुक्त आन्दोलन गरेका हुन् ।
————————————————————————————
बाजुरामा झडप, कम्तीमा १० जना घाइते
बाजुरामा प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्याँस प्रहार गर्दा तीन महिने बालिका सहित १० जना घाइते भएका छन् भने छेवैमा रहेको विद्यालयमा पढ्दै गरेका बालबालिका बेहोस भएका छन् ।
सडक निर्माणको मागसहित चरणवद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारी र प्रहरीबीच बाजुरामा झडप भएको छ ।
आन्दोलनको तेस्रो दिन २४ बैशाखमा जिल्ला प्रशासन कार्यालय बाजुरा घेराउका लागि गएका आन्दोलनकारी माथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । प्रहरीले प्रहार गरेको अश्रुग्याँसको छर्रा लागेर तीन महिने नाबालिका र विद्यार्थी सहित १० जना घाइते भएका छन् ।
घाइते १० जनामध्ये तीन महिने बालिका जेनीशा न्यौपानेसहित २ जनाको अवस्था गम्भीर रहेको जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले जानकारी दिए ।
रिपोर्टिङका लागि गएका पत्रकार गगन ऐरी पनि घाइते भएका छन् । घाइते सबैको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ ।
प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि जिल्ला प्रशासन कार्यालय नजिकै रहेका बाल मन्दिर प्रावि र बडिमालिका बोडिङ्ग स्कुलमा अध्ययन गरिरहेका बालबालिका ग्याँसको गन्धले केही समय बेहोस भएका थिए ।
साँफे मार्तडी सडक निर्माण गर्न माग गर्दै तीन दिनदेखि आन्दोलनमा रहेका बाजुराबासीलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय जाने बित्तीकै अश्रुग्याँससँगै ढुंगामुढा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको ठाडो निर्देशनमा घटना भएको भन्दै राजनीतिक दल र नागरिक समाजले आपत्ति जनाएका छन् ।
सडक निर्माणका लागि अन्तिम र निर्णायक आन्दोलनमा गर्ने भन्दै लागेका बाजुराबासीले गरेको बन्दका कारण आज बिहानदेखि बजार तथा सवारीका साधन बन्द भएका छन् भने सरकारी तथा गैरसरकारी निकायको कामकाज पनि प्रभावित बनेको छ ।

