थप समाचारमंगलबार, बैशाख २४, २०७०
ढिलो गरी आए पाहुना चरा
गोपाल बराल
नयाँ वर्ष सुरु हुनासाथ वैशाखको पहिलो साताभित्रै महोत्तरीमा देखिने साइबेरियन बकुल्लाको बथान यसपालि वैशाखको चौथो साता लागेपछि मात्रै आइपुगेको छ ।
प्रत्येक वर्ष वैशाखमा आएर गौशालामा तीन छिमल बच्चा कोरलेपछि कात्तिकको अन्त्यतिर फर्कने गरेको साइबेरियन चराको आगमन हुनासाथ २३ बैशाखदेखि गौशालाबजार क्षेत्रमा चहलपहल बढेको छ ।
करिब तीन हजारको सङ्ख्यामा आएका चरा हेर्न सर्वसाधारण, वातावरणविद् र चराको सम्बन्धमा अध्ययन गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिहरुको चहलपहल बढेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
पाहुना चराको आगमनले बजार क्षेत्रको वातावरण नै सेताम्य देखिएको इप्रका गौशालाका प्रहरी निरीक्षक दीपक गिरीले बताए ।
प्रत्येक वर्ष जस्तै इप्रका परिसरका रूखलाई बासस्थान बनाएको पाहुना चरालाई यसपालिको बसाइँ असजिलो हुने छाँट देखिएको चरा तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । इप्रका परिसरका ठूल्ठूला मसालाका धेरै रूख ढलेकाले पाहुना चरालाई गुँड बनाउन, बस्न र फुल पारेर बच्चा कोरल्न यसपालि असजिलो हुनसक्ने देखिएको वातावरणसम्बन्धी जानकार अध्यक्ष नायडू नेपालीको भनाइ छ ।
सामान्यतया अग्लाअग्ला सिमल, मसाला र सिसमका रूखलाई बासस्थान बनाउने बकुल्ला जातको पाहुना चरालाई बर्सेनि त्यस्ता रूख घट्दै गएपछि बस्ने ठाउँको अभाव हुने अवस्था देखिँदो छ । अग्ला रूख मासिने क्रमसँगै अबका केही वर्षभित्रै निमिट्यान्नै हुने अवस्थाले आउने दिनमा पाहुना चराको कलरव सुन्न नपाइने आशङ्काले आफूलाई चिन्ता लाग्ने गरेको गौशाला गाविसका पूर्वअध्यक्ष देवनारायण महतोले बताए ।
लामो समयदेखि आउनेजाने क्रम भएकाले साइबेरियन चराको स्थानीय बकुल्लासँग हिमछिम बढेको सो पाहुना चराको समूहलाई नियाँल्दै आएका गौशालाका बासिन्दाले बताएका छन् । घाँटीमा हल्का पहेँलो सानो घेराजस्तो देखिने पाहुना चरा र चुच्चो पहँेलो हुने स्थानीय बकुल्ला विगत वर्षहरुमै घुलमिल भएका शिक्षक पुरुषोत्तम अधिकारीले बताए ।
गत कात्तिकमा पाहुना चरासँगै केही फरक रङ्ग र आकारका बकुल्ला देखिएकाले केही सङ्ख्याका पाहुना चरा र स्थानीय बकुल्लाको संसर्गबाट ती चरा यहीँ जन्मे, हुर्केको हुनसक्ने कतिपय स्थानीय बासिन्दाले लख काटेका छन् । यसपालि सो कुरा राम्ररी ठम्याउन उनीहरुले चराविज्ञ र वातावरण क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिसँग माग गरेका छन् ।
यसैबीच, गौशालामा पाहुना चराको प्रत्येक वर्षको आगमनलाई सुरक्षित, व्यवस्थित र मैत्रीपूर्ण बनाउन तिन्को बसाइ अवधि (वैशाखदेखि कात्तिकसम्म) मा बन्दुक तथा पटका पड्काउने र रूख काट्ने जस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
पाहुना चराको आवागमनलाई निरन्तर बनाउन इप्रका परिसर, बजारक्षेत्र र सडक छेउछाउमा चाँडै अग्लो हुने जातका रूख रोप्न आवश्यक देखिएको याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका उपप्राध्यापक हेमनारायणलाल कर्णले बताए ।
इप्रका परिसरमा यदाकदा हुने सशस्त्र अभ्यासले पाहुना चरालाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेतता अपनाउन पनि वातावरणविद् र चराविज्ञले स्थानीय प्रहरीसँग अनुरोध गरेका छन् ।
रासस

