समाचारमंगलबार, बैशाख २४, २०७०
पूर्व क्रिकेटर इमरान खान घाइते
२४ बैशाख साँझ पाकिस्तानको लाहोरमा चुनावी सभालाई सम्बोधन गर्ने तयारीमा रहेका तहरिक–ए–इंसाफ पार्टीका नेता एवम् पूर्व क्रिकेट कप्तान इमरान खान स्टेजमा चढ्दै गर्दा खसेर घाइते भएका छन् ।
अग्लो स्टेजमा लिफ्टबाट चढदै गर्दा इमरान खान १४ फिट तल खसेको र उनको टाउकोमा गम्भीर चोट लागेको पाकिस्तानी जियो टेलिभिजनले जनाएको छ ।
स्थानीय शौकत खानम अस्पतालमा उपचार गराईरहेका खानको अवस्था खतरामुक्त रहेको चिकित्सलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तानका टेलिभिजनमा देखाइएको तस्बीरमा उनको टाउकोमा चोट निशान भएको स्पष्ट देखिएको छ ।
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा आयोजित सभामा ठूलो भिड लागेको र इमरान खानलाई स्टेजसम्म जानलाई निकै मुश्किल परेको थियो । स्टेजमा चढ्दै गर्दा उनी तल जमिनमा खसेका हुन् ।
पाकिस्तानमा ११ मेमा आम निर्वाचन हुँदैछ । चुनावी प्रचार प्रसारका क्रममा इमार खानले आफ्नो पार्टीका लागि देशभर विशाल सभाहरुको आयोजना गरिरहेका छन् । पछिल्लो समयमा विशेष गरी शहरी मतदाताहरुमा उनको लोकप्रियता बढेको बताइएको छ ।

