समाचारबुधबार, बैशाख २५, २०७०
कार्की नियुक्तिको उद्देश्य स्पष्ट पारियोसः यादव
२५ बैशाखमा आफ्नै निवास विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नाम सिफारिस गर्ने एमाओबादीको उद्देश्य खोजी गरिनु पर्ने बताएका छन् ।
“स्वच्छ छबी र उच्च नैतिकता भएकालाई नियुक्त गरिनुपर्ने ठाउ“मा बिवादास्पद कार्कीलाई कसरी सिफारिस गरियो, त्यो खोजी गरिनु पर्छ,” अध्यक्ष यादवले भने ।
कार्कीमा अलिकती पनि नैतिकता भएको भए उनले आफ्नै बिगतको बिवादास्पाद रेकर्ड र अहिले भइरहेको विरोधका बीच पद अस्वीकार गर्नुपर्ने पनि यादवले बताए ।
अहिलेको चुनावी सरकारले संवैधानिक अंगको नियुक्ति गरेर हैसियत नाघेको बताउँदै अध्यक्ष यादवले निर्वाचित सरकारले मात्रै गर्ने काम चुनावी सरकारले गर्न नहुने बताएका थिए ।
ठूला तीन दलको सिण्डिकेटले राजा महेन्द्रलेससम्म कल्पना नगरेको कर्मचारीतन्त्रलाई बढावा दिएको र सिण्डिकेटमा राष्ट्रिपति पनि अल्मलिएको यादवले आरोप लगाए ।
“राष्ट्रपति मुलुकको अभिभावक बन्न सकेनन्,” अध्यक्ष यादवले भने, “राष्ट्रपतिको गलत कदमले मुलक दलदलमा फसेको छ ।”
यादवले अदालतमा पनि निरंकुशता शुरु भएको दाबी गर्दै अहिलेको अदालत ‘मिलिट्री हेडक्वाटर’ सरह भएको आरोप लगाए ।
फोरम नेपाल चिर्वाचन बिरोधी नभएको भन्दै यादवले संविधान बन्ने सुनिश्चितता नभएसम्म चुनावमा भाग नलिने बताए ।
कमल रिमाल, विराटनगर
