समाचारबुधबार, बैशाख २५, २०७०
बेरोजगारको बन्दले जनजीवन प्रभावित
योग्यता अनुसारको रोजगारी नहुञ्जेल बेरोजगार भत्ताको माग गर्दै बेरोजगार युवा संघले आह्वान गरेको बन्दका कारण मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा यातायातका साधन चलेका छैनन् ।
चक्काजामका कारण पूर्वपश्चिम राजमार्ग र नारायणगढदेखि नागढुंगासम्मको सडकमा गाडी चलेका छैनन् । काठमाडौ छिर्ने मुख्य नाका नागढुंगा भएर गाडीहरु नचल्दा यात्रुहरु अलपत्र परेका छन् ।
बेरोजगार युवाहरुका समस्या समाधान गर्नुपर्ने र रोजगारीको प्रत्याभूति हुनुपर्ने आन्दोलनकारीको माग छ ।
चक्काजामका कारण नवलपरासी कावासोतीको जंगल क्षेत्रमा धेरै सवारी साधनहरु रोकिएका छन् । बजार समेत बन्द रहेकाले यात्रुहरुले पिउने पानी पनि पाएका छैनन् ।
झापामा यातायात ठप्पहुँदा राजमार्गमा मानिसहरु हिँडिरहेका देखन्छन् । शिक्षण संस्था र कलकारखाना बन्द नगरिएपनि सबारी ठप्पहुँदा ति पनि प्रभाबित छन् ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले चार दिनसम्म पूर्बका नौ जिल्लामा गरेको बन्द फिर्ता भए लगत्तै बेरोजगारहरुले गरेको बन्दले जनजीवन थप कष्टकर बनाएको छ ।
त्यस्तै संघले पश्चिमको कैलाली लगायतका क्षेत्रमा यातायात सेवा ठप्प बनाएको हाम्रा संवाददाताले जनाएका छन् ।
भूमिगत शैलीमा पर्चा पम्ल्पेटिङ गरी गरिएको बन्दका कारण पूर्वपश्चिम राजमार्गको चिसापानी अत्तरिया सडकखण्डमा यातायात सेवा ठप्प रहेपछि गन्तव्यमा जाने यातायातका साधनहरू बीच बाटोमै रोकिएका छन् ।
बन्दबाट धनगढीबाट पहाडी रुट, पूर्व–पश्चिम राजमार्गका साथै जिल्लाभित्रका छोटो दूरीका रुटमा चल्ने बस लगायतका यातायातका साधनसमेत सुचारु हुन नसकेको बस व्यवसायी समिति धनगढी टिकट बुकिङ काउन्टरले जनाएको छ ।
यातायात क्षेत्रबाहेक अन्य क्षेत्रमा भने बन्दको प्रभाव परेको छैन ।
नेपालगञ्जमा पनि संघका कार्यकर्ताहरुले सवारी साधन चल्न दिएका छैनन् । स्थानीय मोतीराम आचार्यले यातायातका साधन नचल्दा आफू लोक सेवा आयोगको परिक्षा दिन सुर्खेत जान नपाएको गुनासो गरे ।
हेटौडामा पनि बन्दको आंशिक प्रभाव परेको छ । बिहान पूरै बन्द रहेको हेटौडामा दिउँसो फाट्टफुट्ट सवारी साधन चलेका देखिन्छन् ।
