समाचारबुधबार, बैशाख २५, २०७०
कार्कीको नियुक्ति जनआन्दोलनको मर्म र भावनाविपरीतः एमाले
एमाले केन्द्रीय कमिटीको २५ बैशाखमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्की नियुक्त भएकोमा खेद ब्यक्त गर्दै आफ्नो पार्टी गम्भीर र स्तब्ध भएको जनाएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा व्यापक जनविरोध हुँदाहुँदै पनि राष्ट्रपतिबाट संवैधानिक परिषद्को सिफारिसलाई अनुमोदन हुनुले परिवर्तनको प्रक्रिया विपरीत भएको समेत उल्लेख छ ।
जनआन्दोलनको दोषी ठहर भएको र भ्रस्टाचारको समेत अभियोग लागेको व्यक्ति भएकोले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्ने प्रक्रियाप्रति आफ्नो पार्टीले गम्भीर असहमति जनाएको अवस्थामा राष्ट्रपतिबाट पनि बेवास्ता हुँदा पार्टी स्तब्ध भएको एमालेले उल्लेख गरेको छ ।
कार्कीको सिफारिस फिर्ता गर्न मन्त्रिपरिषद्का अध्यक्ष र राष्ट्रपतिलाई समेत लिखित आग्रह गरेको एमालेले स्मरण गराएको छ ।
यसैबीच कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्ने अलोकतान्त्रिक प्रक्रियाको विरोधमा उत्रिएका नागरिक समाजका अगुवाहरूलाई धरपकड गरेको घटनाको पनि एमालेले भत्र्सना गरेको छ ।
“ऐतिहासिक जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरुमाथि संविधानप्रदत्त नागरिक अधिकारको वर्खिलाप गरिएको यो गिरफ्तारी निन्दनीय छ”, एमालेले भनेको छ, “हाम्रो पार्टी यो गिरफ्तारीको तीव्र निन्दा र भर्त्सना गर्दछ ।”
