समाचारबिहीबार, बैशाख २६, २०७०
जनकपुरको स्कुलमा ‘बुद्ध भारतमा जन्मेको’ पढाइन्छ
पुस्तक खरीद बिक्रीमा निजी विद्यालयले लिंदै आएको कमिसनका बारेमा छानबिन गर्ने क्रममा अभिभावक संघले मोनास्टिक उच्च माविमा ‘गौतम बुद्धको जन्मस्थल उत्तरी भारतको एक राज्यमा भएको’ उल्लेख गरिएको पुस्तक पढाउन लागिएको फेला पारेको छ ।
अभिभावक संघ जनकपुरका अध्यक्ष उदयचन्द्र साहले जनकपुरका नीजि विद्यालयहरुमध्ये सबैभन्दा बढी छात्रछात्रा रहेको मोनाष्टिक आवासीय उच्च माविमा गलत सन्देशसहितको पाठ्यसामग्री फेला परेको बताए ।
भारतीय प्रकाशन समूह ‘सुल्तान चन्द’ को ‘सिम्फोनी इंग्लिश रिडर ४’ को पृष्ठ संख्या ३२ मा गौतम बुद्धको जन्मस्थल उत्तरी भारतको एक राज्यमा भएको उल्लेख गरिएको छ । ‘
भ्रम फैलाउने पुस्तक विद्यार्थीहरुलाई पढाइरहेको फेला परेपछि तात्कालै धनुषाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले उक्त पुस्तक तात्कालै पठनपाठन बन्द गर्न निर्देशन दिएका छन् ।
नेपाल सरकारले पहिचान नै नगरेको भारतीय प्रकाशन समूहको ‘ओरिएन्टल ब्ल्याक स्वाम,’ ‘सुल्तान चन्द’ सहितका पुस्तक समेत विद्यालयमा पठनपाठन भईरहेको फेला परेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले कलिला बालबालिकालाई राष्ट्रिय हित बिपरित सन्देश सिकाउन लगाउने विद्यालयसित सोधपूछ गरेर कारबाही प्रकृया अगाडि बढाउने बताएका छन् ।
नेपाल सरकारले पहिचान नै नगरेको पुस्तक पठनपाठन गराउनु आफैंमा गलत हो, त्यसमा पनि गलत बिषयवस्तुलाई कलिला बालबालिका समक्ष प्रस्तुत गर्ने गरिएकोले प्रजिअ समक्ष कारबाहीको माग गरिएको अभिभावक संघका अध्यक्ष साहले बताए ।
इश्वरचन्द्र झा, जनकपुर
