समाचारशुक्रबार, बैशाख २७, २०७०
सरकार स्वतन्त्र भएको रेग्मीको दाबी
निर्वाचनसँग सम्बन्धित विषयमा विभिन्न राजनीतिक दलसँग २७ बैशाखमा सिंहदरबारमा भएको छलफलमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन प्रक्रियामा बढीभन्दा बढी दलको सहभागिता गराउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
सरकार चार दलको इसारामा मात्र चलेको भन्ने टिप्पणीप्रति संकेत गर्दै उनले सरकारले स्वतन्त्र भएर काम गरेको दाबी गर्दै चार दलको सिन्डिकेट भनेर पार्टी एवम् सरकारलाई बद्नाम गर्न जरुरी नभएको पनि बताए ।
कुनै पनि हालतमा मंसिरमा चुनाव सम्पन्न गराउने दिशामा सबै दलको सक्रिय, अर्थपूर्ण र निरन्तर सहयोगको अपेक्षा गरेको रेग्मीको भनाई छ ।
निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित अध्यादेशका विभिन्न प्रावधानप्रति दलहरुले दिएका सुझावलाई कसरी सम्बोधन गर्ने भन्नेमा सरकारले संवेदनशीलता र गम्भीरतापूर्वक विचार गरेर अघि बढ्ने रेग्मीले उल्लेख गरेका थिए ।
