थप समाचारशनिबार, बैशाख २८, २०७०
पाकिस्तानमा आम निर्वाचन सम्पन्न
निर्वाचनबाट चुनिएर आएको सरकारले फेरि निर्वाचित सरकारलाई नै सत्ता हस्तान्तरणका लागि पाकिस्तानमा २८ बैशाखमा भएको निर्वाचन ऐतिहासिक मानिएको छ । अहिले पाकिस्तानमा मतगणना कार्य शुरु भइसकेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
निर्वाचनका बेला कराची शहरमा अवामी नेशनल पार्टीको कार्यालय बाहिर भएको विष्फोटमा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । उक्त विष्फोटको जिम्मा चरमपन्थी तालिवानले लिएको छ ।
तालिबानका प्रवक्ता एहसानुल्लाह एहसानले “हामी गर्वका साथै यो हमलाको जिम्मेदारी लिन्छौं र यस्ता अन्य हमला पनि गर्छौं,” भनेको बीबीसीले जनाएको छ ।
त्यसैगरी जमात ए इस्लामी पार्टीले कराची र हैदरवादमा निर्वाचन बहिस्कार गरेको छ भने मुत्तेहिदा कौमी मूवमेन्ट (एमक्यूएम) ले निर्वाचनमा धांधली भएको आरोप लगाएको छ ।
मतदाताहरुमा उत्साह
अफगानिस्तानको सीमा इलाकामा भएको एक मतदान केन्द्रमा भएको गोली प्रहारबाट एक ब्यक्तिको मृत्यु भएको छ ।
केही क्षेत्रमा भएका हिंसाका घटना बाहेक देशभरमा जनताहरुले उत्साहपूर्णरुपमा निर्वाचनमा भाग लिएको बीबीसीले जनाएको छ ।
यद्दपी तालिबान लगायत केही चरमपन्थी संगठनहरुले निर्वाचनमा भाग नलिन आम नगारिकहरुलाई चेतावनी दिएका थिए ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धा पीएमएल (एन) र पूर्व क्रिकेटर इमारन खानको पार्टी तहरिके इन्साफका बीच भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । अघिल्लो सरकारको नेतृत्व गरेको पीपीपी पार्टीले अहिलेको निर्वाचनमा नोक्सान ब्यहोर्नु पर्ने पर्यबेक्षकहरुको विश्लेषण छ ।
पाकिस्तान निर्वाचन आयोगले विभिन्न अवरोध र धम्कीका बाबजुद पनि जनतमा निर्वाचनप्रति अत्यन्तै उत्साह भएको जनाएको छ ।
पर्यबेक्षकहरुले यसअघिका निर्वाचनहरुभन्दा यसपालीको निर्वाचन तुलनात्मकरुपमा स्वच्छ भएको बताए पनि उनीहरुको अन्तिम निष्कर्ष आउन भने बाँकी नै छ ।
