समाचारशनिबार, बैशाख २८, २०७०

जनजाति महासंघको महाधिवेशन शुरु

हिमालखबर

तस्वीरः सविता श्रेष्ठ/हिमालखबर

चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा २८ बैशाखमा जनजाति आन्दोलनका सहिद धनबहादुर थनेतका छोरा तोवबहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले महाधिवेशन उदघाटन गरेका हुन । आदिवासी जनजातिको मुद्दामा राजनीतिक दलहरुले भ्रम फैलाएको भन्दै एमाओवादी  अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोईराला, एमाले अध्यक्ष झलनाथ खनाल र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई प्रवेश निषेध गरिएको महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिए ।

कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले जातीय पहिचान सहितको संघीयताको एजेण्डामा दलहरूबीच सहमति नभएर संविधानसभा विघटन भएको बताए । उनले संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न आदिवासी जनजातीको नेतृत्व आवश्यक रहेको औंल्याए ।

एमाले नेता पृथ्वीसुब्बा गुरुङले संघियता विरोधी र आदिवासी जनजाति विरोधीका कारणले संविधान बनाउने काम सफल नभएको दाबी गरे ।  नेपाली काँग्रेस नेता इन्द्रबहादुर गुरुङ, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नेकपा–माओवादीका सुरेश आले मगरलगायतले मन्तब्य राखेका थिए ।

महाधिवेशन पहिलो पटक राजधानी बाहिर आयोजना गरिएको हो । महाधिवेशनको उद्घाटन सत्रमा ७१ जिल्लाका आदिवासी जनजातिहरु सहभागी भएका थिए । महासंघको बन्द सत्र पर्यटकीय क्षेत्र सौराहामा २९ र ३० बैशाखमा हुने आयोजकले जानकारी दिएको छ ।
महाधिवेशनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, पाँच सचिव, महासचिव र कोषाध्यक्ष रहेको १३ सदस्यीय सचिवालय चयन गर्नेछ ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>