समाचारआइतबार, बैशाख २९, २०७०
३३ दलीय मोर्चाले आह्वान गरेको बन्द फिर्ता
नेवार समुदायमा मनाइने मच्छिन्द्र नाथको जात्रा भोलि परेकाले पूर्ब निर्धारित नेपाल बन्दको कार्यक्रम फिर्ता लिइएको मोर्चामा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले बताएका छन् ।
नेवार समुदायका अगुवाहरुले बन्द फिर्ता लिन आग्रह गरेपछि २९ बैशाख बिहान नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले बन्द फिर्ताको निर्णय गरेको हो ।
नेवार समुदायका नागरिकको भावनालाई कदरगर्दै बन्द फिर्ता लिने निर्णय बैठकले गरेको महासचिव थापाले बताए ।
३३ दल सम्बद्ध जनवर्गीय सङ्गठनहरुले ३१ बैशाख बिहान ९ देखि ११ बजेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
अख्तियार प्रमुखमा नियुक्त कार्की भ्रष्टाचारी र जनआन्दोलन दबाउन सक्रिय भएको भन्दै ३३ दलीय मोर्चाले कार्कीको नियुक्ति खारेज, प्रमुख चार राजनीतिक शक्तिबीचको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउको विरोधगर्दै नेपाल बन्द गर्ने निर्णय यसअघि गरेको थियो ।
