समाचारआइतबार, बैशाख २९, २०७०
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
२०६५ पछि हुन नसकेको स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालयले ९ जेठसम्म स्ववियु निर्वाचन समितिको कार्यालयमा सङ्गठन दर्ता, १० जेठमा मतदाता नामावली प्रकाशन र २३ गते मतदान हुने जनाएको छ ।
विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना बज्राचार्यका अनुसार मतदाता सूचीमाथि दाबी विरोधसहित अन्तिम नामावली प्रकाशन १३ जेठमा, उम्मेदवारका लागि मनोनयनपत्र वितरण १४ जेठमा (प्रत्यक्ष र समानुमातिक दुवैको लागि), उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुमातिकतर्फको शिलबन्दी नामावली दाखिला एवम् प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन १६ जेठमा, उम्मेदवारको नामावलीमाथि दाबी विरोध एवम् नामावली प्रकाशन १७ जेठमा, उम्मेदवारको नाम फिर्ता एवम् अन्तिम नामावली प्रकाशन १९ जेठमा र मतदान २३ जेठमा हुनेछ ।
स्ववियु निर्वाचनको कार्यतालिका सम्बद्ध क्याम्पसहरुमा पठाइसकिएको बज्राचार्यले जानकारी दिइन् ।
रासस
