थप समाचारआइतबार, बैशाख २९, २०७०
कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दर्ता
अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार दुरुपायोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा भएको लोकमानसिंह कार्कीको नियुक्ति बदर गर्न माग गर्दै २९ बैशाखमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
“यसअघि संवैधानिक परिषदको सिफारिस कार्यान्वयन नगर्न माग गर्दै रिट दर्ता गर्न खोजेको थिएँ,” अर्यालले हिमालखबरलाई भने, “तर अहिले कार्कीको नियुक्ति भइसकेकाले उक्त नियुक्ति नै बदर गर्न पुरक निवेदन समेत दर्ता भएको छ ।”
उक्त रिट बारेको सुनुवाई १ जेठमा हुने पनि अधिवक्ता अर्यालले जानकारी गराए ।
कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा संवैधानिक परिषदले सिफारिस गरे लगत्तै अधिवक्ता अर्यालले उक्त सिफारिस कार्यान्वयन नगर्न माग राख्दै दर्ता गराउन खोजेको रिट सर्वोच्च प्रशासनले यसअघि दर्ता अस्वीकार गरेको थियो ।
रिट अस्वीकार भएपछि अर्यालले सर्वोच्च प्रशासनको रिट दर्ता नगर्ने निर्णय विरुद्ध इजलासमै निवेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्च अदालतले प्रशासनको निर्णयलाई बदर गर्दै कार्कीविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि त्यही आदेश अनुसार कार्की विरुद्धको रिट दायर भएको हो ।
