समाचारआइतबार, बैशाख २९, २०७०

थ्रेसहोल्डसहितको अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने तयारी

हिमालखबर

२९ बैशाखमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले संविधान सभा निर्वाचनमा एक प्रतिशत भन्दा कम मत ल्याउनेले समानुपातिक तर्फ प्रतिनिधित्व गर्न नपाउने थ्रेसहोल्ड सहितको निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष अनुमोदनका लागि पठाउने तयारी भइरहेको बताएका छन् ।

उनले निर्वाचनसम्बन्धी ऐन बनाउन ढिलो भइसकेको भन्दै अब दलहरुबीचको सहमति कुरेर बस्न नसकिने बताए । “दलहरुबीच सहमति नभए विगतको नजिरका आधारमा अध्यादेश पठाइनेछ, अब सहमतिका लागि भन्दै धेरै कुर्न सकिंदैन,” मन्त्री पन्तले भने ।

विश्वमै थ्रेसहोल्डको चलन रहेको उल्लेख गर्दै न्यूनतम एक प्रतिशत मत ल्याउनेको संविधानसभामा प्रतिनिधित्व सहितको व्यवस्था लोकतान्त्रिक रहने उनको जिकिर थियो ।

साक्षात्कारमा निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसीरको पहिलो हप्ता चुनाव सम्पन्न गर्नेगरी निर्वाचन आयोग तयारीमा जुटेको बताए ।

चुनावका लागि तत्काल ऐन आउनुपर्नेमा जोड दिदै आयुक्त यादवले सरकारले अध्यादेश ल्याए लगत्तै चुनावी तयारीले गति लिने बताए । उनले विगतमा दलहरुबीच थ्रेसहोल्ड राख्ने सहमतिअनुसार मस्यौदामा प्रस्ताव गरिएको पनि जानकारी दिए ।

साक्षात्कारमा नेपाली काङ्ग्रेसका नेता डा.नारायण खड्काले वर्तमान सरकारले चुनाव गर्ने वातावरण बनाउन नसके विकल्प खोज्ने बताए । चुनाव गर्न नसक्ने अवस्था देखिए सरकारको राजीनामा माग्ने खड्काको भनाई थियो ।

नेकपा एमाले केन्द्रीय सदस्य अग्नि खरेलले निर्वाचन व्यवस्थासम्बन्धि थे्रसहोल्ड कुनै पनि हालतमा झिक्ने पक्षमा आफूहरु नरहेको बताए । “पहिले थ्रेसहोल्डमा एमाओवादी समेत असहमत थिएन, अहिले आएर असहमति देखाउनुले आशंकाहरु जन्माएको छ,” खरेलले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>