समाचारसोमबार, बैशाख ३०, २०७०
जनजाति महासङ्घको नेतृत्व चयनमा सहमति भएन
चितवनमा जारी नेपाल आदिवासी जनजाति महासङ्घको महाधिवेशनमा ३० बैशामा सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि नेतृत्व चयनका लागि चुनाव हुने भएको छ ।
सहमति नभएपछि महाधिवेशनको बन्दसत्रमा निर्वाचन समितिले चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चार जनाको दाबी परेको छ ।
अध्यक्ष पदका लागि नेवा देय दबुका नरेश ताम्राकार, किरात राई यायोक्खाका उपाध्यक्ष चन्द्रविक्रम राई, नेपाल शेर्पा सङ्घका अध्यक्ष पेमाछिरी शेर्पा र नेपाल कुमाल सेवा समाजका अध्यक्ष नगेन्द्र कुमाल चुनावी मैदानमा उत्रिएका छन् ।
बन्दसत्रले अध्यक्ष १, उपाध्यक्ष पाँच, महासचिव १, सचिव पाँच र कोषाध्यक्ष १ गरी १३ सदस्यीय सचिवालय चयन गर्ने छ ।
यसैगरी महासचिव पदका लागि पनि ६ जनाको उम्मेद्वारी परेको छ । महासचिवमा दाबी गर्नेहरूमा गोविन्द छन्त्याल, डन्डु शेर्पा, नवीन रोक्का, पेम्बा भोटे, ज्ञानबहादुर बोटे र बुद्ध घर्ती छन् ।
यसैबीच महासङ्घको पुरानो विधान संशोधन गरी जिल्ला समवन्य परिषद्को केन्द्रीय सचिवालयमा पुग्न पाउने प्रावधान हुनुपर्ने जिल्ला अध्यक्षहरुको मागका सम्बन्धमा आगामी सङ्घीय परिषद् बैठकमा छलफल गर्ने गरी सहमति भएको छ ।
