थप समाचारमंगलबार, बैशाख ३१, २०७०

मृगौला तस्करीमा संलग्न आठजना पक्राउ

हिमालखबर

मृगौला तस्करीमा संलग्न ८ जनालाई प्रहरीले एक महिनाको अवधिमा काठमाडौँ, नुवाकोट र काभ्रेका विभिन्न स्थानबाट पक्राउ गरी ३१ बैशाखमा धुलिखेलमा सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट मदानपुर–१ का पुना ठकुरी भन्ने पूजा दाहाल, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका–२१ का सचिन मर्हजन, ललितपुरकै सानुलाल महर्जन, तनहँु मिलुंग–३ का कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस–४ का सुमन श्रेष्ठ र काभ्रेको पाँचखाल–६ का राजन दर्जी रहेको काभ्रेका प्रहरी उपरीक्षक कमल घर्तीले जानकारी दिए ।

पक्राउ परेकामध्ये सचिन मर्हजन पाटन क्याम्पसका पूर्व स्ववियु उपभापति रहेको बुझिएको छ ।

यसअघि मृगौलाको अवैध कार्यमा सहयोगीका रुपमा काम गरेका काभ्रेको पनौतीका मनोज रावत रु. ३५ हजार धरौटीमा रिहा भएका छन् भने अर्का काभ्रे होक्सेका प्रेमबहादुर बजगार्इं अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

पीडितहरुले दिएको जाहेरी दरखास्तको आधारमा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न सकेको उल्लेख गर्दै प्रहरी उपरीक्षक घर्तीले तर यो प्रकरणका मुख्य दोषी भने अझ फरार रहेको बताए ।

“हामी ढिलोचाँडो उसलाई पक्राउ गर्न सफल हुनेछौँ,” घर्तीले भने । काभ्रेको होक्सेमा एकै परिवारका तीनदेखि पाँचजनाले मृगौलाको बेचबिखन गरेका छन् ।

होक्सेमा अहिलेसम्म झन्डै एक सय ५० जनाको हाराहारीमा मृगौला बेचबिखन भएको प्रहरीले जनाएको छ । सो बेचबिखनबाट अहिलेसम्म पाँचजनाको मृत्युसमेत भएको जनाइएको छ ।

दलालहरुले मृगौला रु. सात लाखदेखि १० लाखसम्म बेच्ने गरेको र पीडितलाई रु.५० हजारदेखि एक लाखसम्ममात्र दिने गरेको प्रहरी उपरीक्षक घर्तीले जानकारी दिए ।

उनीहरुलाई मानव बेचबिखन ऐन, ०६४ अनुसार मुद्दा चलाइने र दोषी ठहरिए १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ ।
नगेन्द्र अधिकारी/काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>