समाचारमंगलबार, बैशाख ३१, २०७०
रेग्मी सरकारले गरेका कामको फेहरिस्त
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले गरेका कामका सूची प्रकाशित गरी प्रचार प्रसार गर्ने गरेका थिए । अहिलेको मन्त्रिपरिषदले पनि आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख भएका सरकारले गरेका कामको सूची जस्ताको तस्तैः
१. वैशाख-२ : काठमाडौं उपत्यकामा विस्तारित सडकको कार्यलाई तिव्रता दिन मन्त्रिपरिषद्का अध्यक्षले उच्चस्तरीय अनुगमन समितिका पदाधिकारीहरुलाई निर्देश गर्नु भएको छ । करिव २०० किमि सडक विस्तारित भैरहेकोमा २०७० वैशाख भित्र २५।३० किमि र जेठ भित्र करिव ५०।६० किमि कालोपत्रे भैसक्ने र हाल संचालित काममा २०७० असार मसान्त सम्ममा ९० प्रतिशत काम हुने उच्च स्तरीय अनुगमन समितिको अनुमान छ ।
२. वैशाख ४ गते : गणतन्त्रको भावना अनुरुप नभएका विभिन्न १०२ वटा नियमावलीमा रहेका श्री ५ महाराजधिराज, शाही, नरेश, श्रीपेच, वाहुली निशाना, गरिवक्सेका, गथगादी, अधिराज्य, अंचलाधिश र पंचायत जस्ता शब्द हटाउने गरी वर्तमान सरकारले नियमहरुको संशोधन गरेको छ ।
३.वैशाख ५ गतेको मन्त्रिपरिषद्को वैठकले नेपालभरी दुई चरणमा नागरिकता टोली खटाउने निर्णय गर्यो । मतदाता नामावली संकलन र नागरिकता टोलीले घुम्ती शिविर मार्फत विभिन्न सेवा सुविधा पुर्याउने काम भैरहेको छ ।
४. सरकारले गठन गरेको परामर्श तथा समन्वय समितिले संघीय लोकतान्त्रिक मोर्चा, नेपाल आवद्ध ८ दलसँग २०७० वैशाख ८ र वैशाख १९ गते गरी दुई पटक औपचारिक वार्ता गरेको छ । समितिले २०७० वैशाख १८ गते संघीय समाजवादी पार्टी, नेपालसँग औपचारिक वार्ता गरेको छ ।
५.मं.प.को वैशाख ५ गतेको वैठकले भारत सरकारले प्रदान गर्ने गान्धी शान्ति पुरस्कारका लागि सिफारिस गर्न तीन सदस्यीय मन्त्रीस्तरीय कमिटी गठन गरेको र वैशाख १२ गतेको मं.प.को वैठकद्धारा लुम्विनी विकास कोषलाई यस पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
६. २०७० वैशाख २२ गते वसेको संवैधानिक परिषद्को सिफारिस बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की, लोक सेवा आयोगको अध्यक्षमा कयोदेवी यमी र महालेखा परीक्षकमा भानु प्रसाद आचार्यको नियुक्ति भएको छ । जसवाट भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने अपेक्षा गरिएको छ ।
७. २०७० वैशाख २७ गते सरकारले विभिन्न ४० दलसंग दोस्रोपटक सर्वदलिय अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
८.२९ गते राष्ट्रिय योजना आयोगले २९ औं राष्ट्रिय विकास समस्या समाधान समितिको वैठक बस्यो । मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षले निर्वाचनका लागि सुशासन आवश्यक पर्ने कुरामा जोड दिंदै विकास निर्माणका आयोजनाहरुको कार्यान्वयनमा जोड दिन, परिणाममुखी काम गर्न, जनता केन्द्रीत हुन, राष्ट्रिय गौरवका आयोजना र पूँजिगत खर्च बढाउन थप मिहिनत गर्न आग्रह गर्नुभयो ।
९। २०७० वैशाख ३० गतेको मं.प.को वैठकले नेकपा-माओवादी र सो दल सहितको मोर्चालाई वार्तामा आउन औपचारिक रुपमै आव्हान गरेको छ । स्वतन्त्र, निश्पक्ष, भयरहित, विश्वसनीय र समावेशीढंगले निर्वाचन सम्पन्न गराउन शान्ति सुरक्षालाई विशेष सुद्धढ तुल्याउन र अपराध नियन्त्रणमा विशेष पहल शुरु गरिएको छ । निर्वाचन केन्द्रीत विशेष सुरक्षा योजना तर्जुमा भएको छ । सुरक्षा निकायहरुमा निर्वाचन इकाइ गठन गरिएको छ ।
१०. सम्पत्ती शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण (दोस्रो संशोधन), अध्यादेश, २०७० र कसूरजन्य सम्पत्ती तथा साधन -रोक्का, नियन्त्रण तथा जफत), अध्यादेश, २०७० जारी गर्न आवश्यक गृहकार्य अन्तिम चरणमा पुगको छ ।
११. वर्तमान सरकार गठन भएपछि वैदेशिक सहायतामा वृद्धि भएको छ । जापान, विश्व बैंक, भारत, एशियाली विकास बैंक र युरोपियन युनियन लगायतबाट सरकारले सहयोगको प्रतिवद्धता पाएको छ ।
१२.२०६९ चैत्रमा नेपाल सरकारले रु. ३१ अर्व ६५ करोड राजश्व असुली गर्ने लक्ष्य राखेकोमा करिव रु. ३४ अर्व असुली भएको छ । यसरी लक्ष्य भन्दा वढी राजश्व असुली भएको छ । साथै, हालै राजश्व असुलीको वृद्धिदर २२.३ प्रतिशत रहेको छ ।
१३.हाल सरकारको ट्रेजरीमा करिव रु. ५४ अर्व वचत रहेको छ । साथै, विदेशी मुद्राको संचिति पनि रु. ४७४ अर्व १६ करोड वरावर छ । वर्तमान सरकार गठन भएपछि समष्टिगत अर्थतन्त्रमा परिसूचकहरु सकारात्मक दिशातर्फ उन्मुख हुन थालेका छन् ।
१४. नेपाल सरकारका मुख्य सचिवले निर्वाचनका लागि तयार रहन, कर्मचारीलाई विदा नछोड्न, काज फिर्ता गर्न, सवारी साधन लगायनको मर्मत गर्न, निर्वाचनमा खटिने र नखटिने कर्मचारीको सूची दुरुस्त गर्न, नयाँ कार्यक्रम प्रारम्भ नगर्न तथा विदेश भ्रमण कम गर्न सबै सचिवलाई निर्देशन दिनु भएको छ ।
