समाचारबुधबार, जेठ १, २०७०
वैद्यलाई फकाउँदै रेग्मी
यसअघि पनि आन्दोलनरत नेकपा–माओवादीलाई वार्ताका माध्यमबाटै समस्या समाधान गर्नका लागि विना शर्त सरकारसँग वार्ता गर्न विशेष अपील गरेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले १ जेठमा पुनः वार्तामा आउन आह्वान गरेका छन् ।
कृषि तथा वन विश्वविद्यालय रामपुरले काठमाडौंमा १ जेठमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले निर्वाचन अकाट्य आवश्यकता भएको र निर्वाचन गराउनु सरकारको निर्विकल्प उद्देश्य भएको बताए । अनौपचारिक माध्यमबाट पनि वैद्यसँग सम्पर्क गरिरहेका रेग्मीले निर्वाचनमा सबैको सहभागितामा जोड दिंदै नेकपा–माओवादीलाई कुनै शर्त नराखेरै वार्तामा आउन र सहमति खोज्न आग्रह गरे ।
बैद्यले भने सरकारसँग वार्ताका लागि आफूले राखेका तीन शर्त १ चैतको २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश खारेजी, नागरिकता विधेयक खारेजी र अख्तियार प्रमुखको नियुक्ति बदर भएमा मात्रै मात्र वार्ता हुन सक्ने बताउँदै आएका छन् ।
