समाचारबुधबार, जेठ १, २०७०
‘कार्कीको नियुक्ति षडयन्त्रपूर्ण’
१ जेठमा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति नैतिक, राजनीतिक र संवैधानिकरुपमा समेत गलत भएको बताएका छन् ।
“विगत सात वर्षमा सत्तामा रहेकाहरुले गरेको भ्रष्टाचार र राज्यकोषको ब्रह्मलुटबाट उनीहरुलाई चोख्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ति भएको छ,” अध्यक्ष थापाले भने ।
निर्वाचन प्रयोजनका लागि गठित सरकारले दिर्घकालिन महत्व राख्ने संवैधानिक अंगमा ६ वर्षका लागि नियुक्ति गर्नु नैतिक दृष्टिकोणबाट समेत अनुचित रहेको थापाको भनाई छ । उनले ६ वर्षसम्म सत्तामा राज गरेकाहरुले आफूले गर्न नसकेको काम अहिलेको ‘६ महिने सरकार’ मार्फत गर्न लगाएको दाबी गरे ।
राप्रपा नेपालले चुनावी अभियानको शुरुवात गरेको भन्दै उनले मंसीरमा पनि चुनाव हुनेमा भने शंका ब्यक्त गरे । उनले भने, ‘‘चार दलीय सिन्डिकेट रहँदासम्म चुनाव हुदैन, भइहाले पनि स्वच्छ र निष्पक्ष हुनै सक्दैन ।’’
बच्चु विक, महेन्द्रनगर

