समाचारशुक्रबार, जेठ ३, २०७०
‘हजारौं नागरिकको हत्या किन ?’
३ जेठमा २० औं मदन–आश्रित स्मृति दिवसका आवसरमा चितवनको दासढुंगामा भएको कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले एमाओवादी अहिले एमालेकै एजेण्डामा आइपुगेको दाबी गर्दै बिना कारण हजारौं नागरिकको हत्या गरेको बताए ।
नेता नेपालले हजारौं नागरिकको हत्या हुने गरी माओवाद्ीले गरेको ‘जनयुद्ध’ले कम्युनिष्टहरुकै बदनाम गराएको पनि आरोप लगाए ।
“एमालेकै एजेण्डामा आउनु थियो भने हजारौं नागरिकको हत्या किन गरेको ?” उनले प्रश्न गरे ।
आगामी निर्वाचनमा एमाओवादीलाई जनताले भोट नदिने भन्दै एमाले देशकै ठूलो पार्टी हुने नेता नेपालको दाबी थियो ।
मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले र पार्टीका भ्रातृ संघसंगठनले विभिन्न कार्यक्रम गरेका छन् । आज बिहान पार्टी कार्यालयमा रहेको मदन–आश्रितको प्रतिमामा एमाले अध्यक्ष झलनाथ खनाल लगायत नेता तथा कार्यकर्ताहरुले माल्यार्पण गरेका थिए ।
त्यसक्रममा अध्यक्ष खनालले मदन आश्रित हत्याकाण्डको रहस्य अहिलेसम्म नखुल्नुमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकै हात रहेको दाबी गरे ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका खनालले अहिलेको सन्दर्भमा संविधानसभाको निर्वाचन नै मुख्य एजेण्डा भएको बताउँदै एमालेलाई पहिलो पार्टी बनाउने गरी एमालेले अभियान चाल्ने पनि बताए ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनमा परेर निधन भएको थियो । दुई नेताको मृत्यु अझै रहस्यमय नै छ ।
