समाचारशुक्रबार, जेठ ३, २०७०
‘अदालत पञ्चायत कालमा पनि यति कमजोर थिएन’
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता महाधिवेशनमा ३ जेठमा शुभकामना मन्तव्य दिँदै एमाले सचिव पोखरेलले लोकमानसिंह कार्की विरुद्धको रिट दर्ता गर्न कार्कीलाई सोध्नु पर्ने भनेर अदालतले आफै्रलाई कमजोर देखाएको टिप्प्पणी गरेका छन् ।
“नेपालको अदालत पञ्चायतकालमा पनि यति धेरै कमजोर भएको देखिएको थिएन,” नेता पोखरेलले भने, “लोकतन्त्र कमजोर हुँदा जताततै अराजकता बढेको छ।”
एकता महाधिबेशनमा शुभकामना द्रिंदै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले खिलराज रेग्मी नेतृत्वको सरकारलाई बलियो बनाएर मंसीरमै चुनाव गर्ने वातावरण मिलाउन सबै दल लाग्नु पर्ने बताए । उनले सरकारको विरोधमा रहेकाहरुसँग सहमतिका लागि आफूहरु निक्कै लचक भएको समेत बताए ।
एमाओवादीका नेता कृष्णबहादुर महराले संविधान सभा चुनावमा जानु अघि नै दलहरुबीच केही विषयमा सहमति गरिनु पर्ने बताए ।
यो एकीकरणले दलहरुबीच सहमति गर्न हौसला मिलेको समेत महराले टिप्पणी गरेका थिए ।
काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशन मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता हुने छ ।
उदघाटन समारोहपछि आजै बन्द शत्र शुरु हुने छ ।
तीन दिनसम्म चल्ने सम्मेलनले पूर्वप्रधानमन्त्री समेत रहेका सूर्यबहादुर थापालाई अध्यक्ष बनाएर नयाँ कार्य समिति चयन गर्नेछ ।
