समाचारशुक्रबार, जेठ ३, २०७०
सरकार र सदभावना बीचको वार्ता निष्कर्षमा पुगेन
३ जेठ साँझ काठमाडौंको बबरमहलमा भएको वार्तामा सरकारले अनशन तोड्न आग्रह गरे पनि सदभावना पार्टीले मानेन । “सरकारले हामीहरु तपाईहरुका मागप्रति सकारात्मक छौं , एक दुई दिनमै पूरा हुन्छ, अनशन तोड्नुस भने पनि हामीले लिखित सम्झौता गर्न भन्यौ,” सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले हिमालखबरलाई भने, “फेरि शनिबार छलफल गरेर सहमति गर्ने कुरा भएको छ ।”
निर्वाचन मितिको घोषणा, निर्वाचन क्षेत्र पुनः निर्धारण, आमाको नामबाट नागरिकता वितरण, भारतीय मुद्राको तस्करी रोक्नु पर्ने लगायतका १० बुंदे माग राखेर सदभावना पार्टीका ७३ जना नेता कार्यकर्ता २४ जिल्लामा पाँच दिनदेखि अनशनमा बसेका छन् ।
वार्ता टोलीमा सरकारका तर्फबाट गृहमन्त्री माधव घिमिरे, सञ्चारमन्त्री माधव पौडेल, स्वास्थ्यमन्त्री विद्याधर मल्लिक र प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा सहभागी थिए भने सदभावना पार्टीका तर्फबाट सह अध्यक्ष लक्ष्मणलाल कर्ण, महासचिव मनिष कुमार सुमन र पार्टी नेता नवलकिशोर साह सहभागी थिए ।
अनशनका क्रममा धेरैको स्वास्थ्यस्थिति विग्रदै गएपछि ३ जेठमा सर्लाही लगायतका जिल्लामा सदभावनाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।
